दसैंमा १० करोडको तरकारी र फलफूल आयात

धनगढी — सुदूरपश्चिमको प्रमुख सिमानाका गौरीफन्टा भएर दसैंमा मात्रै धनगढीमा १० करोड भन्दा बढी मूल्य बराबरको तरकारी र फलफूल भित्रिएको छ  । भारतबाट आयातित तरकारी तथा फलफूल कैलालीको धनगढी र आसपासको क्षेत्रमा मात्रै खपत भएको हो  ।

गौरीफन्टा नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक देवराज खातीले दसैं लक्षित तरकारी ७ करोड र फलफूल ३ करोड बढीको भित्रिएको जानकारी दिएका हुन् । खातीका अनुसार दसैं अवधिमा हरियो तरकारी १५ लाख ८९ हजार ६८० किलो भित्रिएको छ ।

जसको प्रतिकिलो भन्सार मूल्य १० देखि १२ रुपैयाँको दरले २ करोड ५४ लाख ३४ हजार ८८० रुपैयाँ हुन आउने खाती बताउँछन् । सबैभन्दा धेरै आलु र प्याज आयात भएको छ । आलु ५ करोड २१ लाख ८९ हजार र प्याज १ करोड २९ लाख ४२ हजार बराबरको आयात भएको छ ।

आलु २ हजार ७१९ र प्याज साढे ४ सय मेट्रिक टन भित्रिएको हो । आलु र प्याजको भन्सार महसुल प्रतिकिलो १६ रुपैयाँको दरले आयात भएको खातीले बताए ।

त्यसैगरी भारतबाट दसैंमा २ करोड ३ लाख ५३ हजार मूल्य बराबरको फलफूल २ सय ८३ मेट्रिक टन भित्रिएको छ । धनगढी हाट बजारका स्थानीय तरकारी थोक विक्रेता श्याम लाल चौधरीले यतिबेला आन्तरिक उत्पादनको तरकारी बजारमा आइनपुगेको र चाडबाडमा तरकारी खपत बढी हुने भएकोले भारतबाट हुने आयातबाट मात्रै तरकारीको माग आपूर्ति गर्न सकेको बताए ।

चैधरीका अनुसार सुदूरपश्चिम प्रदेशको बढी जनघनत्व र जनसंख्या भएको सहर धनगढीमा भारतबाट आयात भएको तरकारी र फलफूल बजारले ७० प्रतिशत कब्जा गरेको छ । कात्तिक/मंसिरदेखि स्थानीय हरियो तरकारी बजारमा आउने उनले बताए ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments