सुन्तला उत्पादन घट्यो

सोलुखुम्बु, यस सिजनमा सुन्तला बगैँचामा रहर लाग्दो गरी लटरम्म हुनुपर्ने सुन्तलाको उत्पादन यस वर्ष सोलुखुम्बुको सुन्तला उत्पादन क्षेत्र मानिने देउसा, मुक्ली, सल्यान र नेचामा कमी आएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष आधा जस्तै उत्पादन कम भएको देउसाका सुन्तला कृषक राजकुमार राईले बताउनुभयो ।
उहाँका अनुसार अघिल्लो वर्ष धेरै सुन्तला फलेको भए पनि यस वर्ष मलको कमी तथा रोग कीराका कारण उत्पादन घटेको उहाँको भनाइ छ । सुन्तला उत्पादनमा राष्ट्रिय पुरस्कारसमेत पाउनुभएका देउसाका राई भन्नुहुन्छ, अघिल्लो वर्षभन्दा यसपटक सुन्तला उत्पादनमा आधा कमी आएको छ, बढी फल्दा पनि बजारको अभावले बिक्रीमा समस्या हुन्छ, नफल्दा आम्दानीमा कमी हुन्छ । अघिल्लो वर्ष गाउँमा बोटले फल थेग्न नसकेर बोटको हाँगासमेत भाँचिने गरी सुन्तला फलेकोमा यस वर्ष धेरै पातलो फलेको हो, उहाँले भन्नुभयो ।

अहिले सल्लेरीको साप्ताहिक हाट नयाँबजारमा गत वर्षको तुलनामा सुन्तला बिक्रीका लागि कम आउने गरेको स्थानीय उपभोत्तला बताउँछन् ।
त्यस्तै, यताका वर्षहरूमा सुन्तालको व्यापार गर्दै आउनुभएका सल्यानका प्रभुराम बस्नेतका अनुसार तल्लो क्षेत्रमा समेत गत वर्षको भन्दा सुन्तला उत्पादन घटेको छ । कृषकहरूको भनाइमा सुन्तलाको यो उत्पादन निकै समयपछि भएको कम उत्पादन हो ।
यस वर्ष जिल्लाको सुन्तला उत्पादनमा कमी आएको जिल्ला कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । कृषकहरूले मललगायतका व्यवस्थापनमा ध्यान नदिएर उत्पादनमा मात्र आस गरेकाले पनि कमी आएको केन्द्रका प्राविधिकहरू बताउँछन् । गोरखापत्र

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments