माछापालनमा आकर्षण : जोखिम कम, आम्दानी बढी

काठमाडौँ — चितवनका अगुवा किसान अम्बिकाप्रसाद अधिकारीले ०६५ सालमा माछापालन थाल्दा जिल्लामा २ सयभन्दा बढी किसान थिएनन् ।

अहिले माछा पालन व्यवसाय गर्नेको संख्या बढेर १ हजार नाघिसकेको छ । त्यसमा पनि युवा आकर्षण बढ्दो छ । धान, गहुँ, तोरी हुने फाँटमा अहिले माछा पोखरी छन् ।

वैदेशिक रोजगारीमा गएर फर्किनेहरूको आकर्षण पनि यसैमा छ । कम मेहेनतमा बढी आम्दानी गर्न सकिने भएकाले माछापालनमा आकर्षण बढेको नेपाल मत्स्य ब्यवसायी संघका केन्द्रीय अध्यक्षसमेत रहेका अधिकारी बताउँछन् ।

‘अन्य व्यवसायभन्दा यसमा कम जोखिम छ,’ उनले भने, ‘त्यसैले कम लगानीमा बढी आम्दानी गर्न सकिने भएकाले अधिकांशको रोजाइ माछापालन बन्ने गरेको छ ।’ उनको चितवनमा १० बिघामा १२ र नवलपुरमा डेढ बिघामा ३ वटा पोखरी रहेका छन् ।

‘अहिले जिउँदो माछाको माग बढ्दो छ,’ उनले भने, ‘त्यही भएर यहाँबाट सबैभन्दा धेरै जिउँदो माछा काठमाडौं जाने गरेको छ ।’ उनले ०५१ सालबाट केरा खेती थाले ।पछि माछापालनतिर लागे । ‘केरा खेती अहिले पनि छ तर यसमा अली बढी जोमिख छ,’ उनले भने, ‘तर माछामा कम जोखिम छ, यसको बजार पनि राम्रो छ ।’ उनी मात्र होइन । देशभर पोखरी बनाएर माछा पाल्ने लहर चलेको छ ।

संघमा आबद्ध किसानको संख्या ११ हजारभन्दा बढी छ । पहाडी क्षेत्रमा भन्दा तराईमा माछालाई राम्रो आम्दानीको स्रोत बनाउने किसानको संख्या बढी छ । संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिअन्तर्गत गठित पशुपन्छी विकास कार्यदलका लागि तयार पारिएको पशुपन्छी तथा मत्स्य विकाससम्बन्धी विवरणअनुसार वार्षिक माछा उत्पादन ८६ हजार ५ सय ४४ टन हुने गरेको छ ।

आर्थिक वर्ष ०७४/०७५ को तथ्यांकअनुसार प्राकृतिक जलाशय व्यवस्थापनबाट २१ हजार र मत्स्यपालन व्यवस्थापनबाट ६५ हजार ५ सय ४४ टन माछा उत्पादन भएको छ । ११ हजार ८ सय ९५ हेक्टर पोखरीमा माछा पालिएको छ ।

पोखरीमा पालिएको माछाको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव ९१ रहेको छ । घोल बनाएरसमेत माछा पाल्ने गरिएको छ । तथ्यांकअनुसार ३ हजार ५ सय ५० हेक्टर घोलमा माछा पाल्ने गरिएको छ । सबैभन्दा कम भने ट्राउट माछापालनको क्षेत्र रहेको छ । देशभर ३ दशमलव २ हेक्टरमा मात्र पालिएको छ ।

माछपालनमा आर्कषण बढे पनि यसको आयात भने रोकिएको छैन । मुलुकको उत्पादनले नपुगेर १० हजार ७ सय ५६ टन वार्षिक माछा आयात हुने गरेको छ ।

मत्स्य बीज उत्पादन तथा वितरणअन्तर्गत सरकारी निकायबाट वार्षिक ८ करोड ९९ लाख ५१ हजार र निजी क्षेत्रबाट २२ करोड ६ लाख २५ हजार गोटा भएको छ । माछा पाल्ने देशभर ५२ हजार ७ सय २६ जना किसान छन् ।

१ लाख ३८ हजार ४ सय ३९ जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।प्राकृतिक जलाशयमा माछा मारी जीविकोपार्जन गर्नेको संख्या ४ लाख ४८ हजार ७ सय ३३ रहेको छ ।

कृषि क्षेत्रमा ४ दशमलव १८ र कुल गार्हस्थ उत्पादनमा १ दशमलव १३ प्रतिशत माछाको योगदान रहेको छ । अहिलेसम्म नेपालमा २ सय ३२ स्थानीय जातका माछा पहिचान भएका छन् । तराई क्षेत्रमा ७ जातका कार्प माछाका साथै टिलापिया, पंगासिसलगायत जातका माछाहरूको व्यावसायिक उत्पादन हुने गरेको छ । पहाडी क्षेत्रमा ट्राउट, असला, सहर जातका माछापालन बढ्दो छ ।

केन्द्रीय मस्त्य प्रवद्र्धन तथा संरक्षण केन्द्रका मत्स्य विकास अधिकृत वैकुण्ठ अधिकारीका अनुसार माछा मासुको उपलब्धतामा यसको योगदान २० प्रतिशत छ । संघीय, प्रदेश र स्थानीय तहको समन्वयमा पोखरी निर्माण अनुदान, नर्सरी पोखरी निर्माण, हयाचरी निर्माणका लागि अनुदान उपलब्ध गराइएको छ ।

मस्त्य विकास निर्देशनालयअन्तर्गका ९ वटा मस्त्य विकास केन्द्र छन् । ‘माछा पालनमा अहिले सोचेभन्दा राम्रो आकर्षण छ,’ अधिकारीले भने, ‘विदेशबाट फर्किएकाहरूको लगानी गर्ने क्षेत्र पनि यही बनेको छ, परम्परागत खेतीबालीभन्दा माछाबाट६ गुणा बढी आम्दानी गर्न सकिने हुँदा यसमा किसानको बढी चासो छ ।’

मत्स्य बीज उत्पादन, वितरण, आयात निर्यातलाई नियमन गर्न मत्स्य बीज ऐन नहुँदा कमसल गुणस्तरका मत्स्य बीजको प्रयोगले माछाको उत्पादन वृद्धि नभएको गुनासो किसानको छ ।

त्यस्तै किसानको समस्यामा भारतबाट आयात भइरहेको कच्चा पदार्थभन्दा तयारी दानाको भन्सार महसुल सस्तो हुँदा नेपालका उद्योगबाट उत्पादित दाना महँगो भई प्रतिस्पर्धा हुन नसक्नुरहेको छ । कान्तिपुर

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments