फालिएको खाना, बङ्गुरको दाना

देउखुरी, होटलहरूमा फालिएको खानालाई बङ्गुर व्यवसायीले दानाको रूपमा प्रयोग गर्दै आइरहेका छन् । यसबाट होटल व्यवसायी र बङ्गुर व्यवसायीलाई पनि फाइदा पुगेको छ । जसले गर्दा होटलमा खेर जाने फोहोर वस्तुलाई किनारा लगाउन सहज भएको छ भने बङ्गुर व्यवसायीलाई पनि दाना खरिद गर्नुपर्ने रकम बचत भएको छ । राप्ती गाउँपालिका २ बराखुद्री निवासी हेमलाल सार्कीले भालुवाङ बजार, सशस्त्र प्रहरी क्याम्पबाट मात्रै दैनिक पाँच क्विन्टल फालिएको खाना दानाको लागि सङ्कलन गर्दै आउनु भएको छ । १० वर्षदेखि बङ्गुरपालन व्यवसाय सञ्चालन गर्नु भएका सार्कीले विभिन्न जातका गरी ६५ वटा बङ्गुर पाल्नु भएको छ ।

विदेश गए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा नै बङ्गुर पालनमा लाग्नु भएका सार्कीको बङ्गुर फार्ममा अवलोकन गर्न विभिन्न स्थानबाट व्यवसायी आउने गरेका छन् । आफ्नो तीन पुस्तासम्मको परिवारको नाममा कुनै पनि जग्गा नभएको बताउने सार्कीले बङ्गुरपालनबाट चार कोठाको पक्की घर बनाउनु भएको छ । उहाँले छोराछोरीलाई राम्रो विद्यालयमा पढाउनु भएको छ । उहाँले ऋण लिएर व्यवसाय शुरु गरे पनि अहिले भने निकै सन्तोष लाग्ने गरेको बताउनु हुन्छ । बजारको होटलबाट दाना ल्याउँदा दानाको लागि खर्च गर्नुपर्ने रकम बचत भएको उहाँले बताउनुभयो । वार्षिक १२ लाख रुपियाँभन्दा बढीको कारोबार गरेको बताउने सार्कीले अहिलेसम्म खोर सुधारको लागि २० हजार, समूहमार्फत दुई लाख, फ्रेस हाउस व्यवस्थापनका लागि ५० हजार र यस वर्ष प्रदेश सरकारबाट कृषि अनुदान कोषमार्फत १० लाख रुपियाँ अनुदान पाएको बताउनुभयो ।

यस वर्ष पाएको अनुदानबाट आधुनिक खोर बनाउने र व्यवसायलाई वृद्धि गर्ने उहाँको योजना छ । यस्तै लमही नगरपालिका ६ का मनीराम थापाले पनि ३० वटा बङ्गुर पाल्नु भएको छ । दुईवटाबाट शुरु गर्नुभएका उहाँले बङ्गुरका पाठापाठी बिक्री गरेर मात्रै वार्षिक छ लाख रुपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँले पनि लमही बजार र नेपाली सेना, सशस्त्र प्रहरी क्याम्पको फालिएको खानालाई बङ्गुरको दानाको रूपमा प्रयोग गर्दै आउनुभएको छ । लमहीका २५ वटा होटलबाट मात्रै दैनिक चार क्विन्टल दाना सङ्कलन गर्ने गरेको उहाँले बताउनुभयो । उहाँ प्रतिपाठा चार हजार रुपियाँमा बिक्री हुने बताउनु हुन्छ । बजारबाट सङ्कलन गरेको खाद्य वस्तुका कारण ५० प्रतिशत दानामा खर्च घटेको उहाँ बताउनु हुन्छ । उहाँले पनि नेपाल सरकारबाट गोठ सुधारका लागि ५० हजार अनुदान पाउनुभएको थियो । गोरखापत्र

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments