माछापालनमा बढ्दै लगानी

बागलुङ — रेम्बो ट्राउट माछापालन सुरु गरेको एक वर्ष पुग्दा यहाँका उद्यमीले लगानी करोड पुर्‍याउने योजना अगाडि सारेका छन् । १५ लाख रुपैयाँमा काम थालेका उद्यमी पहिलो पटकको उत्पादन, बजारको माग र मूल्यबाट खुसी भएर लगानी बढाएका हुन् ।

ताराखोला गाउँपालिका ४ मा सञ्चालित ताराखोला बहुद्देश्यीय रेम्बो ट्राउट माछा फार्ममा वित्तीय संस्थामार्फत लगानी बढाएका हुन् ।
गण्डकी प्रदेशसभा सदस्य दीपा रोकासहित ४ जनाले यो फार्ममा लगानी गरेका छन् । बागलुङ बजारका सुवास राजभण्डारी, ताराखोलाका जितबहादुर खत्री र दिवस खत्रीले चलाएको फार्ममा एकै सिजनमा १ लाख माछा पाल्न सक्ने गरी क्षमता बढाउन लागिएको हो । पहिलो सिजनमा १२ हजार ४ सयबाट सुरु भएको फार्ममा दोस्रो सिजनमा दोब्बर बनाइएको थियो ।

पानीको पर्याप्त सम्भावना भएकाले जग्गा खरिद गरेर उत्पादन क्षमता पाँच गुणा बनाउन लागेको राजभण्डारीले बताए । ‘गाउँ तहमै हरेक कृषि फसल उत्पादन गर्ने, पाहुनाले सुविधा सम्पन्न होटल र रेस्टुरेन्टमा खान बस्न पाउने व्यवस्थामा पनि गर्दै छौं,’ राजभण्डारीले भने, ‘हरेकले लगानी गरेर उत्पादन गर्न सक्ने बनाउन बाटो देखाएका हौं ।’ सुरुमा पोखरा र अन्य सहरी क्षेत्रमा बजार खोज्ने अभियान बनाएका उनीहरूले गाउँघर र बागलुङभित्रै धेरै खपत हुने देखेपछि लगानी बढाएको बताए ।

ट्राउट माछा भनेपछि ताराखोला पुग्ने हरेकले खाने योजना बनाउँछन् । सदरमुकाममा पनि होलसेल पसल सञ्चालन गरेर बिक्रीको प्रबन्ध गरिसकिएको रोकाले बताइन् । ‘माग गरेकालाई तत्काल पुर्‍याउन नसकिएकोले डेढलाख भुरा पुर्‍याउने लक्ष्य बनाएका छौं,’ रोकाले भनिन्, ‘त्यसका लागि जमिन र पानीको स्रोत व्यवस्थापन गर्दै छौं । तीन वटा पोखरी थपेपछि उत्पादन बढाउन निर्माणको काम सुरु भएको छ । लगानीका लागि वित्तीय संस्था सहमत भएपछि केही समयमै काम सक्ने लक्ष्य उनीहरूले बताएका छन् । सोचेजस्तै व्यवसाय सञ्चालन गर्न सकेमा गाउँमै १० जनासम्म युवालाई रोजगारी दिन सकिने खत्रीले बताए ।

माछा फार्मसँगै रेस्टुरेन्ट सञ्चालन गर्ने उनीहरूको योजना छ । आकर्षक गन्तव्यका लागि सदरमुकामदेखि भ्रमण र वनभोजका लागि आउनेलाई बस्ने खाने व्यवस्थाको होटल र रेस्टुरेन्ट बनाउन स्थानीयलाई समेत जागरुक बनाउन लागेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । ताराखोलाको चिसो पानी माछाका लागि उपयुक्त छ ।

लगानी गर्न सकेमा माछाको बजार पाउन सजिलो भएको खत्री बताउँछन् । आफ्नै एउटा पोखरीमा भुरा उत्पादन गर्नका लागि माउ माछा ल्याउने तयारीसमेत भएको छ । नुवाकोटको ककनीबाट भित्राएका माछा यहाँको मौसममा उपयुक्त भएका छन् । उनीहरूले कच्चा सामान ल्याएर दानासमेत गाउँमै बनाउने तयारी गरिसकेका छन् ।

‘अब घरघरमै युवाहरू व्यावसायिक बन्नुपर्छ भनेर सीपमूलक तालिम, बीउ, मल र प्रविधि हस्तान्तरणको काममा बजेट पनि राखेका छौं,’ घर्तीले भने, ‘समृद्ध गाउँपालिकाका लागि कम्तीमा एक हजार रोजगारीको तयारी छ ।’ युवा लक्षित कृषि व्यवसाय गरेकाले माछा फार्मका लागि २ लाख अनुदान दिएको उनले बताए ।कान्तिपुर

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments