स्ट्रबेरीमा गोठेमल

Krishi Suchana - Agriculture in Nepal

काउले, नुवाकोट — यहाँका किसान स्ट्रबेरीमा गोठेमल प्रयोग गर्छन् । गोठेमलले उत्पादन बढेकै छ, बढी उत्पादनले आम्दानीसमेत बढाएको छ । अर्गानिक भएपछि किसानहरूले मूल्य पनि मनग्ये पाएका छन् । प्रतिकिलो ७ सय रुपैयाँसम्ममा बिक्री गर्छन् ।

ककनी गाउँपालिका २ काउलेका ३८ वर्षीय प्रेमबहादुर तामाङले स्ट्रबेरीखेती गर्न थालेपछि उनको दिनचर्या फेरिएको छ । अधिकांश समय उनी स्ट्रबेरीको बारीमा भेटिन्छन् ।

झारपात निकाल्ने, पानी हाल्ने, गोडमेल गर्ने र फल टिप्ने काममा उनी व्यस्त हुन्छन् । उनले दुई दिन बिराएर १२–१३ किलो स्ट्रबेरी टिप्छन् । टिपेको स्ट्रबेरी काठमाडौं लगेर बिक्री गर्छन् । उनले यो खेती गर्न थालेको १७ वर्ष भयो ।

वार्षिक ६/७ लाख रुपैयाँ आम्दानी गर्छन् । कात्तिक चौथो सातादेखि फागुन अन्तिमसम्म स्ट्रबेरीले फल दिन्छ । ‘रोग किरा नलाग्ने अन्न बालीको भन्दा चौबर आम्दानी दिन्छ,’ उनले भने, ‘यसलाई मिहिनेत र छोराछोरीजस्तै स्याहार चाहिन्छ ।’

तामाङले ८ रोपनीमा स्ट्रबेरी खेती गरेका छन् । उनको यही आम्दानीले घरायसी र छोराछोरीको पढाउने खर्च उठ्छ । उनले लगाएको स्ट्रबेरी खेतमा गोठेमल प्रयोग गर्छन् । यही गोठेमलले फलाएको स्ट्रबेरी मूल्य दोब्बर छ । ‘विषादीरहित अर्गानिक स्ट्रबेरी उत्पादन गर्छु,’ उनले भने, ‘प्रतिकिलो ७ सय रुपैयाँमा बिक्री गर्छु ।’ उनले उत्पादन गरेको स्ट्रबेरीको बजार भाटभटेनी, बिगमार्ट,अर्गानिक ट्रेड सेन्टर बालुवाटार र युरोपियन बेरी हो । उनी आफैं बिक्रीका लागि जान्छन् ।

१७ वर्षअघि उनको बारीमा ४० भारी मकै फल्थ्यो । ज्यालामजदुरीको काम गर्न उनी सहर जाने गर्थे । उनले यही स्ट्रबेरीबाट छ जनाको परिवार पालेका छन् । उनले यही पैसाको बोट देखेको बताउँछन् । उनी भन्छन्, ‘मकै कोदोले ३/४ महिना खान पुग्थ्यो । अहिले त्यस्तो स्थिति छैन ।’ स्ट्रबेरी मात्र होइन, बिरुवासमेत उत्पादन गरेर गाउँलेलाई बिक्री गर्छन् । उनी मात्र होइन छिमेकी २४ वर्षीय इन्द्र तामाङको स्ट्रबेरी खेतीले दैनिक जीवन फेरिएको छ । उनको सात जनाको परिवार यही खेतीले धानेको छ । उनले पनि दुई दिन बिराएर १८–२० किलो स्ट्रबेरी बिक्री गर्छन् । ‘मुला, मकै कोदोभन्दा स्ट्रबेरीले राम्रो आम्दानी दिएको छ,’ उनले भने, ‘स्ट्रबेरी खेतीले रोजगारी दिएजस्तै भएको छ, नत्र काम खोज्न भौंतारिनुपर्थ्यो ।’

उनले स्ट्रबेरीबाट वार्षिक ४–५ लाख रुपैयाँ आम्दानी लिन्छन् । यहाँ पूर्व फर्किएको भिरालो जमिनमा स्ट्रबेरी लगाइएको छ । गाउँमा दुई सय धुरीले स्ट्रबेरी खेती गरेका छन् । यहाँ लगाइएको स्ट्रबेरी ‘नेहु’ जातको हो । यो टिस्यु कल्चर विधिबाट निकालिएको बिरुवा उनीहरूलाई दिएको साविक कृषि विकास हाल तरकारी जोनका कार्यालय प्रमुख डा. कमलराज गैरेले बताए ।

डा. गैरेले भने, ‘मिहिनेत गर्ने किसानलाई भिरालो पाखामा पैसा फल्छ ।’ ओखरपौवा र ककनीमा उत्पादित स्ट्रबेरी वार्षिक ६ करोड रुपैयाँ उत्पादन हुने गरेको साविक जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।कान्तिपुर

Subscribe
Notify of
guest

3 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments