नेपालकै ठूलो कागती नर्सरी

Krishi Suchana - Agriculture in Nepal

लमजुङ, लमजुङको सुन्दर बजार नगरपालिका १, कुन्छामा एक परिवारले डेढ लाख कागतीका बिरुवा रहेको नर्सरी स्थापना गरेको छ । चितवन बसाइँ सरेर गएका ५५ वर्षीय गोवद्र्धन गौलीको परिवार पुनः गाउँ फर्केर कागती नर्सरीलगायतका कृषि कार्यमा लागेको हो । आफ्नो दुई सय रोपनी जग्गा र थप दुई सय रोपनी जग्गा किनेर चार सय रोपनी जग्गामा कागती, सुन्तला, अदुवा, कफी खेती गर्नुका साथै कागतीको नर्सरी गरिएको गौलीले बताउनुभयो ।

उहाँका अनुसार करिब १५ रोपनी जग्गामा कागतीका बिरुवा छन् । कागती नर्सरी मात्रै नेपालको सबैभन्दा ठूलो रहेको उहाँले दाबी गर्नुभयो । ‘हाइडेन्सिटी’ प्रविधिमार्फत चार हजार पाँच सय कागती र पाँच सय सुन्तलाका बोट लगाइएका छन् । कफी र अदुवा खेती पनि शुरु गरिएको उहाँले बताउनुभयो । उहाँले भैँसी र बाख्रापालन पनि थाल्नुभएको छ । कागतीका बिरुवाका लागि भोजपुर, धनकुटा, गुल्मी, जाजरकोट र तनहुँबाट २० क्विन्टल कागती ल्याएर बीउ राखिएको थियो । नर्सरीमा सुन कागती १, सुन कागती २ र तेह्रथुम लोकल कागतीका बिरुवा छन् । पाइनपल र वासिङ्टन डीसी प्रजातिका जुनार साथै खुखु, उन्सु, मर्कट, किन्नु, ओता प्रजातिका सुन्तला पनि नर्सरीमा लगाइएको छ । कलमीका लागि कागतीका १३ वटा ‘मदर प्लान्ट’ रहेको ‘हाइटेक’ नर्सरीसमेत स्थापना गरिएको छ । गत वर्ष कागतीका बिरुवा बिक्रीबाटै १२ लाख रुपियाँ आम्दानी गरेको गौलीले बताउनुभयो । प्रतिबिरुवा ४० रुपियाँमा बिक्री गरिएको थियो । यस वर्ष ४० लाख रुपियाँ आम्दानी हुने उहाँले अनुमान गर्नुभयो ।

१० वर्ष चितवन बसेका गौली श्रीमती तारा भट्टराई गौलीलाई लिएर गाउँ फर्कनुभएको हो । यसअघिको घरजग्गा कारोबारको जिम्मा छोरा सम्बद्र्धन गौलीलाई दिइएको छ । गाउँको जग्गामा घर बनाएर हिर्कुस एग्रो फार्म प्रालि सञ्चालन गरी कृषि कर्ममा लागेको फार्मका सञ्चालिका तारा भट्टराई गौलीले बताउनुभयो ।पाँच करोड रुपियाँ लगानी गरिएको उक्त फर्ममा ६५ प्रतिशत सेयर उहाँको नाममा छ । बाँकी सेयर गोवद्र्धन, छोरा सम्बद्र्धन र छोरी कुञ्जको नाममा छ ।कुल चार सय रोपनी जग्गा रहे पनि हाल डेढ सय रोपनी जग्गा प्रयोगमा छ । बाँकीमा कागती, सुन्तलालगायत खेती गर्ने तयारी गरिएको छ । सिँचाइका लागि दुई किलोमिटर तल ताप्ले खोलाबाट पानी लिफ्टिङ गरी ल्याइएको छ । पाँच÷पाँच हजार क्षमताको चार वटा ट्याङ्की राखिएको छ । यसका लागि फलफूल तथा सुन्तला जात बाली विकास परियोजना कीर्तिपुरले २० लाख अनुदान दिएको थियो ।

गाउँका किसानलाई लक्षित गरी पाताल कृषि सहकारी संस्था लिमिटेड सञ्चालन गरिएको छ । यसबाट गाउँका किसानलाई कृषिमा ऋण दिने र बचत गराउने गरिएको छ ।गाउँलेले उत्पादन गरेका कृषिजन्य वस्तुको बजार व्यवस्थापन गरिएको हिर्कुसका अध्यक्षसमेत रहनुभएका सहकारीका अध्यक्ष गोवद्र्धन गौलीले बताउनुभयो । उहाँका अनुसार फर्ममा मात्रै १६ जनालाई रोजगारी दिइएको छ ।

उच्च शिक्षाका लागि चितवन झर्नुभएका गौलीले बीएससी पास गरेपछि पाल्पाको एक विद्यालयमा १० वर्ष पढाएको बताउनुभयो । शिक्षण पेसा छोडेर तत्कालीन विद्रोही माओवादी पाटीमा प्रवेश गरी भूमिगत हुनुभएका उहाँ दुई वर्ष जेल पनि पर्नुभयो । त्यसपछि झापाबाट चिया ल्याएर चितवन चिया उद्योग खोली साइकलमा घरसेवा दिन थाल्नुभयो । चियाबाट केही पैसा आर्जन गरेँ । त्यसपछि घरजग्गा कारोबारमा लागेंँ, उहाँले भन्नुभयो, १० वर्षसम्मको घरजग्गा कारोबार छोडेर सरकारी अभियान समृद्ध नेपालः सुखी नेपालीको नारालाई आफ्नो तर्फबाट सहयोग पु¥याउन गाउँ फर्की कृषि कर्ममा लागेँ ।गोरखापत्र

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments