दुई रुपियाँ किलो बन्दा !

सुर्खेत, पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाका कृषकले उत्पादन गरेको बन्दा र काउली लगायतका तरकारीले बजार नपाउँदा प्रतिकिलो दुई रुपियाँदेखि पाँच रुपियाँमा बेच्नुपरेको छ । ठूलो मिहिनेत गरेर लगाएको तरकारीले बजार नपाएपछि कृषक चिन्तित बनेका छन् । कतिपय किसानले दुई रुपियाँ किलो बेच्नुभन्दा बस्तुभाउलाई खुवाउन थालेका छन् ।

बराहताल गाउँपालिका–५, सुन्द्वारीका किसान दुर्गाप्रसाद पौडेललगायतले दुई रुपियाँ किलोमा काउली बेच्नुपर्दा मन अमिलो भएको बताउनुहुन्छ । उहाँले काउलीलगायतका तरकारी उत्पादन गरेर बिक्री गर्ने बेला मूल्य नपाउँदा किसान मारमा परेको दुःखेसोे व्यक्त गर्नुभयो । स्थानीय बजारमा प्रचलित मूल्यमा खरिद गर्न कुनै व्यवसायी तयार नभएपछि किसान सस्तो मूल्यमा व्यापारीले भनेकै दरमा बिक्री गर्न बाध्य छन् । बजारमा काउलीको खुद्रा मूल्य १५ देखि २५ रुपियाँ छ तर किसानले दुई रुपियाँ किलो बेच्न बाध्य भएका छन् ।

किसानको बारीमा अहिले बन्दा, काउली, प्याज, गोलभेँडा र काँक्रा लटरम्म फलेका छन् तर उनीहरूलाई पिरलो बेच्नकै छ । आफूले भनेको मूल्यमा तरकारी लिन व्यापारीले नमानेपछि किसान व्यापारीले भनेकै मूल्यमा बेच्न बाध्य भएको उहाँले बताउनुभयो । सुन्द्वारीमा अहिले ५० भन्दा धेरै घरधुरीले फलाएको तरकारीले बजार पाएको छैन । दुई रुपियाँमा बेच्नुका साथै अन्यले गाईबस्तुलाई पनि खुवाउन बाध्य भएको पौडेलले बताउनुभयो ।

यस्तै, अर्का किसान कृष्णा कोइरालाले पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष किसानलाई निकै घाटा व्यहोर्नुपरेको बताउनुभयो । बजारमा जिल्लाबाहिरको तरकारी छ्याप्छ्याप्ती छ तर आफ्नै गाउँठाउँमा उत्पादन भएको तरकारी भने मूल्य नपाएर गाईबस्तुलाई खुवाउनु परेको गुनासो उहाँले गर्नुभयो । बराहताल गाउँपालिकाको बड्डीचौर बजारमा रहेको एकमात्र तरकारी सङ्कलन केन्द्रमा कृषकले उत्पादन गरेको तरकारीले मूल्य पाउन सकेको छैन । उहाँले गोलभेँडा, काउली, बन्दा, सिमी, बोडी, काँक्रो लगाउँदै आएको भए पनि यस वर्ष तरकारीको भाउ निकै सस्तो भएकाले आम्दानी घट्ने उहाँको भनाइ छ ।

सुरुमा राम्रो आम्दानी हुन थालेपछि तरकारी खेतीमा हौसिएका किसान अहिले उचित मूल्य नपाएपछि निराश बनेको कोइरालाले बताउनुभयो । सानो बजार क्षेत्र र अनि बाहिरको तरकारीले बजार पाउने भएपछि व्यावसायिक रूपमा तरकारी उत्पादन गर्दैआएका किसानले उचित भाउ पाउन सकेको छैन । तरकारी व्यवसाय राम्रो हुने देखेपछि वैदेशिक रोजगारबाट फर्कनुभएका गोविन्दप्रसाद पौडेलले गाउँमै व्यावसायिक तरकारी खेती सुरु गरे पनि अहिले मूल्य नपाउँदा निरास बन्नुभएको छ । उहाँले सुरुको वर्ष राम्रै कमाइ भए पनि अहिले भने तरकारी बिक्री हुन छोडेपछि अब के गर्ने भन्ने चिन्ताले सताएको बताउनुभयो ।गोरखापत्र

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments