यार्सा सङ्कलनबाट ९० लाख शुल्क

रारा, मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँको पाटन क्षेत्रमा पाइने यार्सा सङ्कलनमा जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले रु ९० लाख शुल्क उठाएको छ । मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँका एक दर्जनभन्दा बढी पाटन क्षेत्रमा यार्सा गुम्बा पाइन्छ । यी स्थानमा पाइने यार्सा गुम्बा सङ्कलनकर्ताबाट सङ्कलनमा गएबापत जिल्लाभित्रका सङ्कलनकर्तालाई प्रतिव्यक्ति रु दुई हजार र बाहिर जिल्लाबाट आउनेका लागि रु दुई हजार ५०० प्रवेश शुल्क तोकिएको थियो । उक्त स्थानमा जाने सङ्कलनकर्ताबाट गाउँपालिकाले शुल्कबापत रु ९० लाख प्रवेश शुल्क उठाएको हो ।

मुगु गाउँको छापाखोला, च्यार्कु, रिमार, ठूलोकोखी, स्यानकोखी, चाल्ने, टाँके र हङदङखोलालगायतका पाटन क्षेत्रमा पाइने यार्सागुम्बा सङ्कलन गर्न जानेबाट मुगुम कार्मारोङ गाउँपालिकाले जेठ १३ गतेदेखि १८ गतेसम्म मुगु गाउँको सिरानीचौरमा प्रवेश शुल्क उठाएको थियो । यो वर्ष जिल्लाभित्र र बाहिर जिल्लाबाट आएका चार हजार सङ्कलनकर्तालार्ई प्रवेश अनुमति दिइएको थियो । यो वर्ष सङ्कलनकर्ताबाट रु ९० लाख स्थानीय राजश्व उठेको मुगुम कार्मारोङ गाउँपालिकाका सूचना अधिकारी तीर्थराज शाहीले जानकारी दिनुभयो ।

सूचना अधिकारी शाहीका अनुसार अघिल्लो वर्ष सुरक्षा व्यवस्थापनलगायत अन्य विषयमा कमजोरी हँुदा रु ६२ लाख रकम गाउँपालिकाले उठाएको थियो । जेठ १८ गतेबाट पनि यार्सा सङ्कलन गर्नका लागि सङ्कलनकर्तालाई पाटन क्षेत्र खुला गरिएको थियो । योभन्दा पछि जाने सङ्कलनकर्ताबाट समेत तोकिएको रकम उठाउने निर्णय भएकाले रु पाँच लाखदेखि १० लाख रकम उठ्न सक्ने भएकाले रकम रु एक करोडसम्म पुग्ने अनुमान रहेको मुगुम कार्मारोङ गाउँपालिका–२ का वडाध्यक्ष कार्मा तामाङले बताउनुभयो ।

प्रवेश शुल्कबापत उठेको रु ९० लाख गाउँपालिकाको खातामा जम्मा गरी २५ प्रतिशत व्यवस्थापन, ३५ प्रतिशत सम्बन्धित गाउँपालिका र ४० प्रतिशत मुगुम कार्मारोङ गाउँपालिका–२ मुगु गाउँको विकास निर्माणमा खर्च गरिने निर्णय गाउँपालिकाले गरेको छ । (रासस)

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?