खेतबाटै आलु बिक्री

थाहा, हेटौंडा — जिल्लाको थाहा नगरपालिकाका कृषकलाई आलु खन्न भ्याइनभ्याई छ । उनीहरू बिहानदेखि साँझसम्मै खेतमा भेटिन्छन् । बारीको आलु ढिलै लगाएकाले अझै खन्नलायक भएको छैन । खेतमा भने आलु खन्नेको माचो छ । खन्दाखन्दै व्यापारी खेतमै आइपुग्छन् । मोलमोलाइपछि आलु खरिद गर्छन् ।

उसो त यो वर्ष आलु सप्रेको छैन । ‘यो वर्ष आलुको गेडा सानो छ,’ स्थानीय विमल ढकालले भने, ‘पोहोरको जस्तो भने फलेको छैन, बजारमा भाउ पनि छैन ।’ गत वर्ष कृषकहरूले खेतबाटै रातो र सेतो दुवै आलु प्रतिकेजी २० देखि २५ रुपैयाँसम्ममा बिक्री गरेका थिए ।

अहिले व्यापारीहरूले बढीमा प्रतिकेजी १७ रुपैयाँमा खरिद गरिरहेका छन् । आलुको बोट सप्रे पनि राम्रो फलेको छैन । अधिकांश कृषकहरूले खेतबाटै व्यापारीहरूलाई बिक्री गरिरहेका हुन । शीतभण्डार नभएकाले कुहिने डर रहन्छ । त्यसैले खन्ने बिक्तिक्कै बित्री गरिहाल्नुपर्छ । थाहा नगरपालिकाका अधिकांश ठाउमा आलु खेती हुन्छ ।

पानी धेरै परेर घाम नलागेकाले आलुको उत्पादनमा कमी आएको थाहा नगरपालिकाका कृषि संयोजक सन्जय तिवारीले बताए । ‘पानी धेरै पर्‍यो, आलुको बोट हलक्क बढ्यो । तर राम्रोसँग उत्पादन भएन,’ उनले भने ।

गत वर्ष आलुको उत्पादन राम्रो थियो । मूल्य पनि कृषकले राम्र्रै पाएका थिए । जेठको पहिलो सातादेखि थाहा नगरपालिकाको दामन, पालुङ, बज्रबराही क्षेत्रका कृषकहरूले आलु खन्न सुरु गर्छन् । क्षेत्रका कृषकले कार्डिनल, कुखुरेज्योती, डेजुरे र स्थानीय जातका आलु लगाउने गर्छन । यस क्षेत्रका कृषकको मुख्य आम्दानीको स्रोत नै तरकारी हो । त्यसमा पनि आलु पहिलोमा पर्छ । यो क्षेत्रका अधिकांश बासिन्दाको आर्थिक कारोबार आलुले निर्धारण गर्छ ।

थाहा नगरपालिकाको ६ हजार रोपनीमा आलु खेती गरिने कृषि शाखाका प्रमुख तिवारीले जानकारी दिए । ‘प्रतिरोपनीमा सरदर १५ क्विन्टल आलु उत्पादन हुन्छ,’ उनले भने । यस क्षेत्रका कृषकहरूले आलुको आम्दानीबाटै आफ्ना आवश्यकता परिपूर्ति गर्छन् । माघको अन्तिम सातादेखि फागुन पहिलो सातासम्म आलु लगाउँछन् ।कान्तिपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments