किसानलाई साढे २ करोड अनुदान

बुटवल — दूधमा लागत घटाउने र उत्पादन बढाउने तरिका धेरै हुन सक्छन् । प्रदेश ५ सरकारले भने दूध उत्पादकलाई प्रतिलिटर १ रुपैयाँ ९२ पैसा अनुदान वितरण गरेको छ । प्रदेशका २६ वटा दुग्ध उत्पादक सहकारी संस्थामार्फत उक्त अनुदान उपलब्ध गराइएको हो ।

अनुदानका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १२ जिल्लाबाट धेरै दूध उत्पादन गर्ने सहकारी छनोट गरेको थियो । सहकारीमार्फत २ करोड ४९ लाख ४४ हजार रुपैयाँ अनुदान वितरण गरिएको हो ।

यसबाट दूध उत्पादक करिब १५ हजार किसान लाभान्वित भएका छन् । मन्त्री आरती पौडेलले दूध उत्पादन बढाउन तथा उत्पादक किसानलाई प्रोत्साहन गर्न उत्पादन आधारित प्रत्यक्ष अनुदान दिएको बताइन् । ‘धेरै अनुदान बिचौलिया र टाठाबाठाको हातमा परेको गुनासो सुनिन्थ्यो,’ उनले भनिन्, ‘त्यसलाई रोक्न पनि प्रत्यक्ष अनुदान दिएका हौं ।’

सरकारले आगामी तीन वर्षमा प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउने योजना ल्याएको छ । मन्त्रालयको तथ्यांकअनुसार प्रदेशमा प्रतिदिन ४ लाख ९ हजार ४ सय ३४ टन दूध आवश्यक छ । अहिले ३ लाख १७ हजार ३ सय ३३ टन दूध उत्पादन भइरहेको छ । दूध उत्पादन बढाउनकै लागि सरकारले उत्पादनमा आधारित प्रत्यक्ष अनुदान र सहकारीमार्फत उत्पादित वस्तुको बिक्री र बजारीकरण थालेको छ ।

दूध तथा दुग्धजन्य पदार्थ ढुवानीका लागि १२ जिल्लाका १२ वटा सहकारी तथा दुग्ध उत्पादक संस्थालाई पिकअप गाडी वितरण गरेको छ । धेरै दूध उत्पादन गर्ने सहकारीलाई ५० प्रतिशत अनुदानमा गाडी दिइएको हो । गाडीले दैनिक करिब २० हजार किसानको दूध बजार पुर्‍याउन सघाउनेछन् ।

ढुवानीका लागि गाडी हुँदा उत्पादन लागतमा २ देखि ३ रुपैयाँसम्म कम हुन्छ । दूधमा लागत घटाउन किसानलाई सहकारीमा आबद्ध गर्ने र त्यसमार्फत अनुदान दिने पशुपन्छी निर्देशनालयका प्रमुख युगलकिशोर तिवारीले बताए । ‘साना किसानको पहुँच सिधैं बजारमा पुग्दैन,’ उनले भने, ‘त्यसैले सहकारीमार्फत बजारमा ल्याउन र व्यावसायिक बनाउने योजना छ ।’

उत्पादन मात्रै होइन, उत्पादित दूधको बजारीकरण गर्न पनि किसानलाई चुनौती छ । यो चुनौती कम गर्न सबै जिल्लामा चिस्यान केन्द्र बन्दै छन् । पशु आहाराको व्यवस्थापन, नश्ल सुधार, गोठ तथा भकारो सुधार, पशु स्वास्थ्य उपचार तथा रेखदेख उत्पादन बढाउने कार्यक्रममार्फत पनि दूध उत्पादक किसानलाई सहयोग र प्रोत्साहन गरेका छन् ।कान्तिपुर

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments