अलैंचीको मूल्य निरन्तर घट्दो

उदयपुर — बर्सेनि अलैंचीको उत्पादन बढदै जाँदा यसको मूल्य भने क्रमशः घट्दै गइरहेको छ । मुख्य रूपमा भारतीय बजारमा निर्यात हुने अलैंचीको मागसँगै निर्यात दर बढिरहे पनि ५ वर्षयता मूल्य भने निरन्तर ओरालो लागिरहेको हो ।

५ वर्षअघिसम्म प्रतिमन (४० किलो) १ लाख रुपैयाँका दरले बिक्री भइरहेको अलैंचीको मूल्य उत्पादन बढेसँगै अहिले ३० हजार रुपैयाँ प्रतिमनमा झरेको नेपाल अलैंची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराईले बताए । ‘पहिले पूर्वी पहाडमा मात्रै अलैंची खेती हुने गरेको थियो,’ निवर्तमान अध्यक्ष भट्टराईले भने, ‘अहिले सुदूरपश्चिमसम्म अलैंची खेती विस्तार भएको छ ।’ पहिले उत्पादन थोरै हुँदा माग धेरै थियो, त्यसैले बजार राम्रो रहेको उनले बताए ।

पहिले भारतमा व्यावसायिक रूपमा अलैंची खेती हुँदैनथ्यो । अहिले आएर भारतमा समेत व्यावसायिक खेती हुने गरेको छ । ‘भारतको आसाम, दार्जिलिङ, सिक्किम तथा भुटानमा यसको अलैंची खेती विस्तार हुँदै गएको छ,’ निर्वतमान अध्यक्ष भट्टराईले भने, ‘ नेपालमा समेत अलैंचीको उत्पादन क्षेत्र हरेक साल बढिरहेकाले निर्यातमा समस्या नभए पनि मूल्य भने हरेक वर्ष घटदै गएको छ ।’ नेपालको भैरहवा नाकाबाट नगन्य मात्रामा पश्चिमी क्षेत्रमा उत्पादित अलैंची भारत निकासी हुने गरेको भए पनि बाँकी सबै जिल्लामा उत्पादित अलैंची झापाको बिर्तामोडमा संकलन भई भारत निकासी हुने गरेको उनले बताए ।

पछिल्लो समय हरेक वर्ष मूल्यमा गिरावट आउँदै जाँदा व्यावसायिक अलैंची खेतीमा लागेका कृषकसमेत निरास र चिन्तित हुन थालेका छन् । एक दशकयता व्यावसायिक अलैंची खेतीमा लागेका उदयपुरको विकट पहाडी क्षेत्रका किसानलाई समेत निरन्तर ओरालो लागेको मूल्यले नराम्रो असर पारेको रौतामाई गाँउपालिका ६ नामताका किसान तिलकबहादुर रानामगरले बताए । ‘राम्रो मूल्य पाउने आशामा परम्परागत खेती छाडेर व्यवसायिक रूपमा अलैंची खेती सुरु गरियो,’ किसान मगरले भने, ‘सोचेअनुरूप मूल्य नपाएपछि अहिले किसान चिन्तित छन् ।’

सरकारले कृषि क्षेत्रमा लगानी बढाएसँगै उदयपुरको ग्रमीण क्षेत्रका किसानले व्यावसायिक रूपमा अलैंची खेती गर्दै आएका छन् । विशेषगरी पहाडी क्षेत्र कटारी नगरपालिकाको हर्देनी, मयाङखु, लिम्पाटार, ताप्ली गाउँपालिकाको ओख्ले, इनामे, लेखगााउँ, रौतामाई गाउँपालिकाको रौतापोखरी, आँपटारलगायत ठाउँका किसान यसको खेतीमा लागेको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ । ‘जहाँ बाह्रैमास चिस्यान हुन्छ ती ठाउँमा अलैंची खेतीको सुरुवात भएको छ,’ कृषि ज्ञान केन्द्र प्रमुख सरोजकान्त अधिकारीले भने, ‘सरकारी तथा गैरसरकारी निकायकै पहलमा कृषकलाई अलैंची खेतीमा विभिन्न प्रकारका प्राविधिक सहयोग हुन थालेपछि कृषकको आकर्षण बढेको छ ।’ पछिल्लो समय यसको मूल्यमा गिरावट आएसँगै किसान निरास बन्दै गएको उनले बताए ।

मूल्य घटे पनि निर्यात भने निरन्तर भइरहेको उनले बताए । नेपालबाट वार्षिक करिब ५ हजार अलैंची भारत निर्यात हुने गरेको व्यवसायी बताउँछन् । नेपालमा उत्पादित अलैंचीको ६० प्रतिशत भारत, दोस्रो पाकिस्तान र त्यसपछि खाडी निर्यात हुने गरेको छ ।कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?