चाडपर्वमा माछा–मासुकाे मूल्य बढ्न सक्ने

काठमाडौँ — बाढीपहिरो र भन्सार वृद्धिका नाममा बजारमा मासुको मूल्य अचाक्ली बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार व्यवसायीसँग छलफल गर्‍यो ।

राष्ट्रिय कुखुरा व्यवसायी संघ र नेपाल माछामासु व्यवसायी संघका पदाधिकारीसँग भएको छलफल रोचक बन्यो । विभागका महानिर्देशक योगेन्द्र गौचनले अचाक्ली मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमन र आर्थिक जरिवाना गर्ने बताएपछि व्यवसायीले तत्कालै आपत्ति जनाए ।

‘व्यवसायीलाई छलफलमा बोलाउनुको उद्देश्य अनुगमन हो । अब हामी माछामासुका क्षेत्रमा पनि अनुगमन गर्छौं । संघले आफ्ना सदस्यलाई जानकारी गराउनुपर्‍यो । अनुगमनका क्रममा खरिद/बिक्रीको बिल हुनुपर्‍यो । सरसफाइलगायतको मापदण्ड पुर्‍याउनुपर्ने हुन्छ,’ महानिर्देशक गौचनले भने, ‘क्वारेन्टाइन परीक्षणका नाममा बिचौलियाले खेलेका छन् । मूल्यसूची अनिवार्य चाहियो । बिलबिजक जारी नगरे २ लाखदेखि ३ लाखसम्म जरिवाना गर्छौं ।’

महानिर्देशकले अनुगमन र जरिवाना गर्ने बताइरहँदा नेपाल माछामासु व्यवसायी संघका अध्यक्ष रमेश खड्गीले तत्काल आपत्ति जनाए । ‘तपाईको कुरामा चित्त बुझेन । खसीकोखरिद र बिक्री मूल्य उल्लेख गर्दा सरकारले मासु पनि तौलिन आउनुपर्‍यो । मासु नतौलेर कसरी कारबाही गर्न मिल्छ ? अनुगमन टोलीले मासु पनि जोख्न आउनुपर्‍यो नि,’ अध्यक्षखड्गीले भने, ‘खसी नतौलेर कसरी सम्भव हुन्छ ? खसीबोकामा प्रतिशत नापेर नाफा राख्न मिल्दैन ।’

महानिर्देशक गौचनले बिलबिजक, मूल्यसूची र सरसफाइमा सचेत गराउन खोजे । ‘अनुगमनका क्रममा पशुविज्ञ जान्छ । जिउँदो खसीको खरिदमा कति मासुमा कति आउँछ, त्यसको मूल्यांकन हुन्छ,’ महानिर्देशकले गौचनले भने, ‘किसानसँग खरिद भएको अवस्थामा भरपाई गर्नुपर्‍यो ।’

व्यवसायीहरूले भने बिल सम्भव नभएको अडान लिए । ‘दुई–चारवटा घरमा खरिद गरेको हुन्छ । त्यस्तो अवस्थामा बिलको सम्भावना कहाँबाट हुन्छ ? जे गरे पनि नक्कली बिल बनाउनुपर्‍यो,’ छलफलमा सहभागी एक व्यवसायीले जवाफ दिए । विभागका महानिर्देशक गौचन भने खरिद गरेको भरपाई अनिवार्य चाहिने बताइरहे । ‘त्यो अनिवार्य हुनुपर्‍यो । बिल नराखेकामा कारबाही हुन्छ । मूल्यसूची अनिवार्य चाहियो,’ उनले भने, ‘२ लाखदेखि ३ लाखसम्म जरिवाना हुन्छ ।’

विभागले कारबाही गर्ने बताएपछि उनीहरूले मूल्य तोक्न माग गरे । बजार खुला अर्थतन्त्र भएकाले व्यवसायीले स्वयंम मूल्य निर्धारण गर्नुपर्ने विभागले जनाएको छ । त्यसको वहानामा अस्वाभाविक मूल्य भने असुल्न नहुने विभागको तर्क छ । ‘कालोबजारी ऐनअनुसार २० प्रतिशतभन्दा बढी नाफा लिन पाइँदैन ।

मासुको हकमा त्यो लागू नहुन सक्छ,’ महानिर्देशक गौचनले भने, ‘मनोमानी मूल्य असुल्न भएन । अस्वाभाविक रूपमा धन कमाउन खोज्नु भएन । अस्वाभाविक मूल्य नहोस् ।’ संघका सचिव श्रीराम खड्गीले आयात कम हुँदा बजारमा समस्या भएको बताए । उनले आयात खुला नभएसम्म बजारमा समस्या हुने जनाए । ‘कच्चा पदार्थ सहुलियत दरमा आउनुपर्‍यो । सामान नै नभए पनि मूल्यसूचीको अर्थ हुँदैन । मुख्य कुरा सामान हुनुपर्‍यो,’ उनले भने, ‘पहिलो चरणमा सामान उपलब्ध गराऊ । त्यसपश्चात मूल्यसूची राखौं ।’ उनीहरूका अनुसार खसीबोकाको दैनिक माग करिब १२ सय हो । जसमध्ये ८ सय भारतबाटै आयात हुन्छ । रागाभैंसीको माग करिब ८ सय छ । करिब ८० प्रतिशत भारतबाट भित्रिन्छ । बंगुर भने स्वदेशकै उत्पादनले धानेको छ ।

कुखुराको मासु दैनिक साढे ३ लाख किलो चाहिन्छ । अहिले उत्पादन नभएको व्यवसायीहरूको दाबी छ । अण्डाको मूल्य पनि अस्वाभाविक रूपले बढेको छ । व्यवसायीका अनुसार कुखुराको मासु किलोमा ३८०, खसीको १३ सय, अण्डा क्यारेटको २८५ रुपैयाँ पुगेको छ । ‘क्वारेन्टाइनमा कडाइ भए पनि अवैधानिक आयात भएको छ । त्यो भन्सारका कर्मचारी मोटाउने काम भएको छ । एउटा खसीमा १/२ हजार रुपैयाँ लिएर पास भइरहेको छ,’ सचिव खड्गीले भने ।

मूल्य बढेपछि विभागले खसीबोका बिक्री गर्ने चौपाया व्यवसायी संघ कलंकी र पोल्ट्री व्यवसायीलाई पनि छलफलमा बोलाएको थियो । ती संस्थाका प्रतिनिधि भने उपस्थित भएनन् । अध्यक्ष खड्गीले चौपाया व्यवसायी संघले कालोबजारी गरेको दाबी गरे । ‘१०/१५ जना व्यवसायी छन् । कच्चा पदार्थमा भन्सार वृद्धि र दानाको मूल्य पनि बढेकाले तत्काल मूल्य घट्ने सम्भावना नरहेको उनले
दाबी गरे ।

ती व्यवसायीहरूले कालोबजारी गर्दा बजारभाउ बढ्यो,’ खड्गीले भने, ‘खरिद मूल्य खुलाउँदैनन् । किलोको ५० रुपैयाँभन्दा बढी नै मूल्य राखेर बिक्री गर्छन् । कालोबजारी त्यहीँबाट हुने हो ।’ छलफलमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले मूल्य नियन्त्रण गर्न विभागले अनुगमन गर्नुपर्ने बताए । ‘ठाउँअनुसार व्यवसायीले कुखुराको मूल्य करिब ४ सय रुपैयाँ लिएका छन् । खसीको मूल्य १३ सय रुपैयाँ पुगेको छ,’ उनले भने, ‘यो मूल्य अस्वाभाविक हो । विभागले पनि अनुगमन गर्नुपर्‍यो । अनुगनका क्रममा व्यवसायी संस्थाले पनि सहयोग गर्नुपर्‍यो ।’

चाडबाडमा मूल्य बढाउने संकेत
व्यवसायीले दसैंतिहारमा मूल्य बढाउने संकेत गरेका छन् । उनीहरूले मागअनुसार आयात र उत्पादन नभएको जनाउँदै मूल्य वृद्धि हुने बताए ।

‘मागको करिब आधा मात्रै आयात भएको छ । अहिलेकै अवस्थामा दसैंमा मूल्य १ सय प्रतिशतले वृद्धि हुन्छ,’ राष्ट्रिय कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीले भने ।

उनका अनुसार मूल्यवृद्धिको कारण बर्डफ्लुको हल्ला हुनु पनि हो । हल्लाले उपभोक्ताले मासु खाएनन् । ‘आर्मी, प्रहरीले पनि खरिद गर्न छाडे । दुई महिना बिक्री भएन । त्यसपश्चात् किसानले चल्ला हालेनन् । ५ रुपैयाँमा पनि चल्ला बिक्री भएन,’ उनले भने, ‘किसानले खोर खाली गरे । त्यसको असर अहिले देखिएको छ ।’ बीसीका अनुसार तराईबाट ५०/६० गाडी कुखुरा आउँथ्यो । अहिले दुई गाडी मात्रै आएको छ ।कान्तिपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments