खीर खानुको फाइदा / पकाउने विधि

आज साउन १५ । यो दिनलाई खीर खाने पर्वका रुपमा पनि मनाइन्छ।

खीर दूधबाट तयारी पारिन्छ। यो दिन वर्षातले थकित शरीरलाई ऊर्जा दिन खीर खाने नेपाली परम्परा छ। नेपाली चाडबाडमा थरीथरीका परिकार पाक्ने गर्छन्। नेपालीका भान्सामा दसैंमा मासुका परिकार बढी पाक्छन् भने तिहारमा सेल रोटीले सबैको मन जितेको हुन्छ। यस्तै असार १५ मा दही चिउरा खाने गरिन्छ भने साउन १५ खीर खाएर मनाइन्छ।

बुधबार बिहान चाबहिलमा भेटिएकी सरस्वती कार्कीले खीर खाएर साउने १५ मनाएको बताइन्। ‘बिहानै उठियो,आमाले पकाएको मीठो खीर खाइयो,’ उनले भनिन्,’ खीर त अरु समयमा खाइन्छ तर साउन १५ मा खाएको खीरको स्वाद बेग्लै हुने।’ खीर खाने प्रचलनबारे भने आफू अनविज्ञ रहेको उनले बताइन्। उनले भनिन्,’ साउनमा खीर खानुपर्छ भन्ने सुनेकी छु,किन खाइन्छ थाहा भएन।’

खीरलाई चोखो परिकारका रुपमा लिने पनि नेपाली प्रचलन छ। त्यसैले पूजापाठ वा श्राद्धमा खीर चढाइने गरिन्छ। चामल, दूध, नरिवल, काजू तथा मरिचको मिश्रणबाट खीर बनाइन्छ।

विभिन्न मरमसलाको प्रयोग गरी खीर पकाइने हुँदा यसमा विभिन्न पौष्टिक तत्व रहेको हुन्छ। यस्तो परिकार स्वास्थ्यका लागि फाइदाजनक हुने आम धारणा छ।

पोषणविद् डा. नानी शोभाका अनुसार खीर सबै उमेर समूहका लागि फाइदाजनक हुन्छ। तर खीर पकाउँदा त्यसमा प्रयोग गरिने मसलामा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ।

मधुमेहका बिरामीले मसलायुक्त खीर नखान उनको सुझाव छ। डा. शोभाकाअनुसार बढी मात्रामा चिनी र मसला राखेर पकाएका खीरले बिरामीलाई फाइदा गर्दैन। बिरामीले खीर खान मन गरे कम दूध राखेर मसलायुक्त खीर खुवाउन सकिने डा. शोभाको भनाइ छ।

बढी मात्रामा दूध र कम मसलाको प्रयोग गरी पकाएको खीर बालबालिकाका लागि फाइदा हुने उनको सुझाव छ।

असार १५ भित्र खेतिपातिको काम सकेर फुर्सदिलो हुने भएकाले किसाहरुले खीर खाने गरेको भन्ने भनाइ पनि छ। तर पछिल्लो समय खीर सबैको रोजाइमा पर्ने गरेको छ। असारको झरीमा रुझेको शरीरलाई शक्ति दिन खीर खाने गरेको किसान बताउँछन्।

आवश्यक सामग्री

– चामल

– दूध

– काजु

– किसमिस

– बदाम

– मरिचको दूलो

– चिनी

पकाउने विधि

सबैभन्दा पहिले कतिजनालाई खीर पकाउने हो त्यहीअनुसार चामल पानीमा भिजाउने। चामललाई करिब २/३ घन्टा पानीमा भिजाउनुपर्छ। माथि तयार पारिएका मसलाहरूलाई घिउमा हल्का रातो हुनेगरी भुट्नुपर्छ। अब खीर पकाउने भाँडो चुलोमा बसाल्ने। त्यसमा आवश्यकताअनुसार घिउ राख्ने। घिउ तातिसकेपछि त्यसमा भिजाएको चामल हल्का रातो हुनेगरी भुट्ने।

चामल भुटिइसकेपछि त्यसमा दूध राख्ने। आगो सानो बनाउने। पटक पटक चलाइरहने। चामल पाकिसकेपछि तयार पारेको मसला र स्वादअनुसार चिनी राख्ने। सबै मरमसला राखेर खीर राम्रोसँग चलाउने। यसरी तयार पारेको खीर तरकारी र अचारसँग खाँदाको मज्जा नै बेग्लै हुन्छ।

अझ जाँगर छ भने खीरसँगै पुरी पनि बनाएर खान सकिन्छ।

Subscribe
Notify of
guest

4 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments