यार्सागुम्बा टिप्न रोक

मनाङ – विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी (लकडाउन) का कारण यार्सागुम्बा टिप्नमा रोक लगाइएको छ। यार्सागुम्बा टिप्ने मौसम शुरु भए पनि लकडाउनका कारण यस वर्ष जिल्ला प्रशासन कार्यालय मनाङले यार्सागुम्बा टिप्न रोक लगाएको हो।

सङ्घीय सांसद पोल्देन छोपाङ गुरुङको अध्यक्षमा जिल्लाका चारवटै गाउँपालिकाका प्रमुखको सहभागितामा बसेको बैठकले यार्सागुम्बा टिप्न जाने बाटो नखोल्ने निर्णय गरेको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए। महङ्गो र लोपोन्मोख बहुउपयोगी हिमाली औषधीय जडीबुटी यार्सागुम्बा टिप्ने मौसम भए पनि देश नै लकडाउनको अवस्थामा रहेकाले त्यसलाई टिप्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

नासो गाउँपालिकाको नाम्के खर्क, डाँफे लेक, चामे गाउँपालिकाको लमजुङ बेसक्याम्प, नार्पाभूमि गाउँपालिकाको चुम्री खर्क, याक खर्क, आइस लेक र मनाङ ङिस्याङ गाउँपालिकाको गुमछाङ, याक खर्क, लेदर, तिलिचो बेसक्यामलगायतका खर्कमा यार्सा पाइन्छ। जिल्लाकै राजश्व सङ्कलनमा उल्लेखनीय टेवा पुर्‍याउने यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि आयस्रोतसमेत घाटा हुने देखिएको संरक्षण व्यवस्थापन समिति (सिएमसी) नासो गाउँपालिकाका अध्यक्ष यादव घलेले बताए। गत वर्ष स्थानीयलाई १० देखि १५ हजार रुपैयाँ पुर्जी काटेर यार्सा टिप्न अनुमति दिइएको भए पनि यस वर्ष टिप्नै नपाइने भएको उनले बताए।

गत वर्ष जिल्ला बाहिर तथा व्यापारीले भने २० देखि ४० हजार रुपैयाँसम्मको कुपन लिएर यार्सा टिप्ने अनुमति लिएको थियो, उनले भने। मनाङको मुख्य आयस्रोतका रुपमा रहेको यार्सागुम्बा टिप्न अनुमति लिएर मात्रै जाने गरेको भए पनि यस वर्ष रोक लगाइएको अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख बाबुलाल तिरुवाले बताए। तालाडाँडा, लार्केपास, चीनको बोर्डरमा पर्ने नार्पाभूमि र थोराङ्ला भञ्ज्याङ यार्सा गुम्बा टिप्न जाने नाका हुन्। रासस

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments