अमेरिकन फौजी कीराको प्रकोप बढेपछि दाङका किसानहरु चिन्तित

फौजी कीराकाे प्रकाेप बढेपछि दाङमा मकैका विरूवा नष्ट भएका छन् भने किसानहरु चिन्तित भएका छन् । दाङको लमही, घोराही, तुलसीपुर लगायतका अन्य पालिकाका किसानले रोपेको मकैमा उक्त कीराको प्रकोप देखिएको छ ।

समयमै पानी परेर मकै रोपेका किसानले यस वर्ष फसल राम्रो हुने आशामा थिए । तर मकैको बोटमा अमेरिकन फौजी कीराको प्रकोप बढेपछि किसानहरु चिन्तित भएका हुन् ।

फौजी कीराले रोपिएको मकै सखाप पारेको शान्तिनगर गाँउपालिका वडा नम्वर २ अमुवाका कृषक मुक्ति बहादुर खड्काले बताउनुभयो । ‘लकडाउनका कारण आय श्रोत नभएको अवस्थामा समयमै मकै उत्पादन हुने भन्ने लागेको थियो तर अमेरिकन फौजी कीराले सखाप पार्दै गएको छ,’ उहाँले भन्नुभयो ।

करिव १ बिगाह क्षेत्रफलमा मकै खेती गरेकी रेउती वलीको मकै पनि सखाप भएको छ । बीउ मात्र ५ हजार मूल्य लागेको बताएकी वलीले भन्नुभयो, ‘मल र मेहनतको कुरा छोडौँ, बाली नै हात नपर्ने चिन्ता भाे ।’

एउटै टोलको झण्डै ६ बिगाह क्षेत्रफलमा अमेरिकन फौजी कीराले मकैको बोट नष्ट भएको शान्तिनगर- ४ गबदवाका चेत बहादुर डाँगीले बताउनुभयो । अबको बचेको बोटलाई नष्ट गरि पुनः मकै रोप्नु तयारी गरिएको डाँगीले बताउनुभयो ।

शान्तिनगर- ४ कै थल्लुप्रसाद खरालले फौजी कीराले मकैमा धेरै क्षति पुर्याएको भन्दै वडाबाट दिएको किटनाशक विषादीले आफुहरुलाई नपुग्ने बताउनुभयो । ‘आधा मकै त सकियो,अब आधा छ । त्यो पनि विषादी हाल्न पाए हुन्थ्याे कि भन्ने आश छ,’ उहाँले भन्नुभयो,‘तर वडाबाट दिएको औषधी कस्ले छर्कने, कस्ने नछर्कने ।

शान्तिनगरमा भने करिब १० दिन पहिले वडा नम्बर ७ को देवीपुरमा पहिलोपटक देखिएको भए तापनि अहिले ७ वटै वडामा यो किराको प्रकोप देखिएको गाउँपालिकाका कृषि शाखा प्रमुख यमकान्त पाण्डेले बताउनुभयो ।

गाउँपालिकाले आकस्मिक बाली कोष स्थापना गरेको र त्यही कोषबाट प्रत्येक वडामा ३० विगाहलाई पुग्ने विषादी र स्प्रे दिएको समेत प्रमुख पाण्डेले बताउनुभयो । यो कीराले १३२ वटा बालीलाई नष्ट गर्ने भए तापनि सबैभन्दा बढी मकैलाई गर्छ । त्यसैले यसलाई नियन्त्रण गर्न सुरक्षित विषादीको प्रयोग सकिने समेत उहाँले बताउनुभयो ।

सरकारले दाङ जिल्लामा मकै उत्पादनका लागि सुपरजोन कार्यक्रम सञ्चालन गरेको छ ।
१० वर्ष सम्म सञ्चालन गर्ने गरी २०७३ सालदेखि प्रधानमन्त्रीको कृषि आधुनिकीरण परियोजना अन्तरगत सुपरजोन कार्यान्वयन ईकाइ यस वर्षदेखि शुरु गरिएको हो ।

दाङलाई मकै उत्पादनमा व्यावसायिकता बृद्धि गरि त्यसलाई प्रर्वद्धन गर्ने उद्देश्यले नेपाल सरकारको वार्षिक बजेटबाट परियोजना सञ्चालन गरिएको हो ।

दाङमा ६६ हजार हेक्टर जम्मा खेतियोग्य जमिनमध्ये झण्डै २४ हजार हेक्टर क्षेत्रफलमा मकै खेती गर्ने गरिएको छ । कृषि ज्ञान केन्द्रले दाङमा अरुण- २ र रामपुर कम्पोजिट जातका मकैको बीउ सिफारिस गरेको छ ।

के हो फौजी किरा ? पहिचान र रोकथामको उपाय

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments