पर्वतमा पनि फौजी किराको आतंक

रासस
पर्वत, जेठ ११ गते । पर्वतका अधिकांश क्षेत्रमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप बढ्दै गएको छ । जिल्लाको जलजला गाउँपालिकास्थित धाइरिङ, नाग्लीवाङ, मल्लाज, विहादी गाउँपालिकाको वहाकीठाँटी, रानीपानी, बर्राचौरलगायतका क्षेत्रमा फौजी किराले मकैबालीमा क्षति पु¥याएको हो । मकै गोड्ने बेलामा किराले आक्रमण गरेर क्षति पु-याउन थालेको स्थानीय कृषकले जानकारी दिएका छन् ।

पछिल्लो एक हप्तादेखि मकैखेतीमा किराको आक्रमण बढेको जलजला गाउँपालिका–७ धाइरिङका कृषक नवराज आचार्यले बताउनुभयो । उहाँले किराले पात हुँदै बोटमा आक्रमण गरेपछि बोट मर्ने समस्या देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार विगत दुई हप्तादेखि मकैमा किराको आक्रमण बढेको हो । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले सल्यानगाउँमा देखिएको सङ्क्रमण अहिले बढ्दो क्रममा रहेको बताउनुभयो । मल्लका अनुसार कृषि प्राविधिकसँग बुझ्दा मकैमा देखिएको सङ्क्रमण फौजी किराको आक्रमण हो ।

जिल्ला कृषि ज्ञान केन्द्र पर्वतले स्थलगतरूपमा अनुगमन गरेर मकैमा अमेरिकी फौजी किराको प्रकोप फैलिएको ठहर गरेको जानकारी दिएको छ । ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले कृषकको खेतमै पुगेर रोगको पहिचान गरिएको बताउनुभयो । रेग्मीका अनुसार जलजलामा करिब १५ रोपनी खेतको मकैमा किराको आक्रमण फैलिएको र प्रकोप बेलैमा नियन्त्रण गर्न नसके धेरै क्षेत्रमा फैलिने खतरा छ ।

दक्षिण पर्वतको बिहादी गाउँपालिकामा पनि किराले बालीमा क्षति भएको गुनासो आएकाले प्राविधिकलाई परीक्षणका लागि पठाएको रेग्मीले बताउनुभयो । विहादी गाउँपालिका–४ सहित जिल्लाको दुई हजार हेक्टर मकै लगाइएको क्षेत्रफलमा असर पु¥याएको छ ।

के हो फौजी किरा ? पहिचान र रोकथामको उपाय

स्थानीय कृषक दीपक भुसालले यसको रोकथाम गर्न गाउँपालिका र कृषिसम्बन्धी निकायलाई अनुरोध गरिएको बताउनुभएको छ । कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार गत वर्ष फलेवास नगरपालिका–४ मुडिकुवामा कृषकले रोपेको बेमौसमी मकै खेतीमा यो रोगको प्रकोप देखिएको थियो । गत वर्ष अरु ठाउँमा रोग नदेखिए पनि यस वर्ष भने ठूलो क्षेत्रमा रोग देखिएकाले कृषकसँगै कृषि प्राविधिकसमेत चिन्तामा परेका छन् । ज्ञान केन्द्रका प्रमुख रेग्मीले कृषकलाई रोग नियन्त्रणका लागि आवश्यक घरेलु विधि र विषादीको बारेमा जानकारी दिने काम भइरहेको बताउनुभयो ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments