बारीमा लटरम्म लिची पाक्न थाल्यो तर बजार छैन

दमौली:

कृषकको बारीमा अहिले लिची पाक्न सुरु भएको छ । लिची पाक्न सुरु भएपनि बिक्रीको लागि भने बजार बन्द रहेको छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कम गर्न सरकारले गरेको बन्दाबन्दीको असर कृषकहरुमा परेको छ । त्यसको प्रत्यक्ष उदाहरण तनहुँको देवघाट गाउँपालिका–५ साउनेमा लगाइएको व्यावसायि लिची खेती हो । वडा अध्यक्ष यालबहादुर गुरुङ (विजय) ले ४० रोपनी क्षेत्रफलको जग्गामा तीन सय ५० वटा बोटमा लिची खेती गर्नुभएको छ । अहिले लिची पाक्न सुरु भएपनि बिक्रीको लागि भने बजार बन्द भएको गुरुङले बताउनुभयो ।

बारीमा लटरम्म लिची पाक्न थालेपनि बजार खुल्ला नहुँदा कहाँ बिक्री गर्ने भन्ने समस्या भएको गुरुङले बताउनुभयो । गत वर्ष व्यापारी नै लिची टिप्न बारीमा आउने गरेको भएपनि यस पटक कुनै पनि व्यापारीले सम्पर्क नगरेको उहाँले बताउनुभयो । खब्दरी कृषि फर्म प्रा.लि. दर्ता गरी अध्यक्ष गुरुङले २०७० सालबाट व्यावसायिक लिची खेती गर्नुभएको हो । कुनै खेती नहुने रुखो जग्गामा लिची लगाएपनि यस पटक लिचीबाट सोचेजस्तो आम्दानी हुनेमा उहाँले आशङ्का गर्नुभयो ।

गुरुङले गत वर्षबाट आम्दानी लिन थाल्नुभएको हो । २०७० सालमा लगाएको केही बोटबाट गत वर्ष ५० हजार आम्दानी लिएको भन्दै उहाँले यस वर्ष सबै बोटले आम्दानी दिने हुँदा करिब दुई लाखको लिची बिक्री अपेक्षा गरेको बताउनुभयो । तर बन्दाबन्दीको कारण बजार नखुल्दा लिची बोटमै कुहिएर झर्ने हो की भन्ने डर भएको उहाँको भनाइ छ ।
लिचीसँगै उहाँले सो जग्गामा केरा, आँप, निबुवा र कटहरसमेत लगाउनुभएको छ । आँप र कटहर पनि लटरम्म फलेको छ । तर प्राथमिकता लिची नै भएको भन्दै उहाँले लिची राेपेर खाली रहेको जग्गाको सदुपयोग गर्न अन्य फलफूल समेत लगाएको बताउनुभयो ।

लिचीको हेरचाहको लागि एक जना कामदार राखेको भए पनि हरेक दिन आफू बगैँचामा आउने र हेरचाह गर्ने उहाँले बताउनुभयो । लिचीलाई मान्छेबाट भन्दा पनि बाँदरबाट जोगाउनु निकै चुनौती भएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष गुरुङकै सक्रियतामा सो वडामा लिची पकेट क्षेत्र घोषणा गरिएको छ । गण्डकी प्रदेश सरकारको फलफूल पकेट क्षेत्र कार्यक्रम अन्तर्गत सो वडालाई लिची पकेट क्षेत्र घोषणा गरिएको थियो । लिची पकेट क्षेत्र कार्यक्रम कार्यान्वयनको लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ११ लाख ३५ हजार रुपियाँ उपलब्ध समेत गराइसकेको छ ।

पकेट क्षेत्र कार्यक्रम अन्तर्गत ५० जना कृषकहरू आबद्ध हुनुहुन्छ । ती सबै कृषकले धेरै थोरै लिचीको खेती गर्नुभएको छ । केहीकाे १०-१५ बोट त केहीको ५०-५५ बोटहरु छन् । गाउँपालिका भित्रमा सबैभन्दा धेरै लिचीको बोट नै वडा अध्यक्ष गुरुङको रहेको अर्का लिची कृषक ऋषीराम सुवेदीले बताउनुभयो । सुवेदीले पनि बन्दाबन्दीको असरले देवघाटमा उत्पादित लिची बिक्रीमा समस्या हुनसक्ने बताउनुभयो ।गोरखापत्र अनलाइनमा खबर छ।

प्रकाशचन्द्र भट्टराई

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments