पर्साका कृषकहरु चरम मारमा, हरियो तरकारी खेतमै कुहिएर जान थाल्यो

कृषि तथा पशुपालन व्यवसाय

पर्सा जिल्लामा उत्पादित हरियो तरकारी बजारसम्म पु-याउन नपाउँदा खेतमै कुहिएर जान थालेको छ । पर्सा जिल्लाको बहुदरमाई, पर्सागढी तथा पोखरिया नगरपालिका र गाउँपालिकाका किसानहरुले उत्पादन गरेको हरियो तरकारी बजारसम्म पु-याउन नसक्दा खेतमै कुहिएर जान थालेको किसानहरुको गुनासो छ ।

मुलुकनै लकडाउनको अवस्थामा रहेको समयमा पर्साका हरियो तरकारी बजारसम्म पुग्न सकिरहेको छैन । लकडाउनले गर्दा सवारी साधन आवतजावतमा रोक लगाइएसँगै पर्साको हरियो तरकारी बजारसम्म पु-याउन नसकिएको कारण खेतमै कुहिन थालेको पीडित किसानहरुको गुनासो छ ।

पर्साका बहुदरमाई नगरपालिका मातहतमा पर्ने विश्रामपुरका किसानहरुले उत्पादन गरेको हरियो तरकारीहरु बोडी, घिउरा, करेला, खुर्सानीहरु खेतमै कुहिएर जान थालेको बताए । गाउँघरमा घुमेर केही तरकारी विक्री गरेपनि उचित मूल्य नपाएको किसानहरुको गुनासो छ ।

घरघरमा घुमाएर तरकारी बेच्दा न्यून मूल्य पाउने, त्यसमा पनि प्रहरीले कुटपिट गर्ने गरेको कारण बाध्य भएर उब्जाएको तरकारीलाई पनि खेतमै छाड्नुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।

बजारमा लगेर बेच्दा घिउरा प्रतिकेजी ३० देखि ४० रुपैया पाउने गरेकोमा घरघरमा घुमाएर बेच्दा प्रतिकेजी १० रुपैयामा पनि विक्री नहुने उनीहरुको गुनासो छ ।

त्यसरी नै करेला प्रतिकेजी ४० देखि ५० रुपैया, बोडी २० देखि ३० रुपैया, भिन्डी ३० देखि ४० रुपैयामा विक्री हुनुपर्नेमा ती सबै तरकारीहरु घरघरमा लगेर बेच्दा प्रतिकेजी १० देखि १५ रुपैयामा पनि विक्री नहुने उनीहरुको गुनासो छ ।

पर्सा जिल्लाभर आर्थिक वर्ष २०७६/७७ मा काक्रो, फर्सी, गोलभेडा, बोडी, घिरौला, लौका, रायो साग, परवल, करेला, भिन्डी, लसुन, प्याज, खुर्सानीलगायतका हरियो तरकारीहरु ५ सय २० हेक्टरमा खेति गरिएको थियो ।

त्यस्तै, ११ हजार ७ सय ८३ मेट्रिक टन हरियो तरकारी उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन (जोन) तरकारी पर्सा कार्यालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?