तत्काल दूध नलिए केन्द्रअगाडि फाल्ने चेतावनी

चिज उत्पादन

रसुवामा चीज उत्पादन केन्द्र सञ्चालनमा नआउँदा कृषकलाई समस्या भएको छ । यसअघि वैशाख १ गतेदेखि चीज उत्पादन हुँदै आएको थियो । तर यो वर्ष अझैसम्म पनि केन्द्र सञ्चालनमा आएका छैनन् ।

केन्द्र बन्द भएका कारण दूध बिक्री गर्न नपाउँदा कृषक चिन्तित छन् । फागुनदेखि नै चौरी ब्याउन सुरु गर्छ । जेठदेखि साउन १५ गतेसम्म चौरीले बढी दूध दिन्छ । त्यसपछि दूध घटेर जान्छ । चौरीले दूध दिने मुख्य सिजनमा दूध बिक्री गर्न नपाउँदा कृषकले घरमै घिउ र छुर्पी बनाइरहेका छन् ।

दिनको चार किलोसम्म दुर्खा र घिउ बनाउने गरेको चौरीपालक सेनाम नुर्पु घलेले बताए । ‘भूकम्पले भवन भत्काउँदा पनि त्यो बेला बन्द भएको थिएन,’ उनले भने, ‘तर यो लकडाउनले त निकै सास्ती दियो ।’ केन्द्र नखुल्दासम्म दूध बेच्न नसकिने उनको भनाइ छ । ‘दुर्खा र घिउको बजार राम्रो छैन,’ उनले भने, ‘सिजनमा दूध बेच्न सकिएन भने कृषकलाई धेरै घाटा हुन्छ ।’

कृषकले दुई महिनादेखि दूध बेच्न पाएका छैनन् । दुग्ध विकास संस्थानले दूधको मूल्य बढाएपछि कृषकले गत वर्ष ओखलढुंगाबाट चौरी किनेर ल्याएका थिए । यस क्षेत्रमा अहिले १५ वटा गोठ छ ।

केन्द्रले गत वर्षसम्म वैशाख १ गतेदेखि कात्तिक ८ गतेसम्म केन्द्रले दूध लिँदै आएको थियो । ‘अहिले सबै कृषकले दुर्खा र घिउ बनाइरहेका छन्,’ उनले भने, ‘सबै दुर्खा र घिउ संकलन गर्ने हो भने पाँच टिपभन्दा बढी हुन्छ ।’

केन्द्र नखुल्दा कृषकले दूध बेच्न नपाएको तामे खर्कमा रहेका कृषक रेन्जेन नुर्पु तामाङले बताए । ‘यसअघि दूध बिक्रीमा समस्या भएको थिएन,’ उनले भने, ‘अहिले लकडाउनले निकै समस्या बनायो ।’

जिल्लाको लाङटाङ चीज उत्पादन केन्द्रका प्रमुख ग्याल्बो लामाले केन्द्रमा आएर कृषकले दूध फाल्ने चेतावनी दिएका बताए । ‘कृषक धेरै समस्यामा परेका छन्,’ उनले भने, ‘केही कृषक त केन्द्रले तत्काल दूध नलिए केन्द्र अगाडि ल्याएर दूध फाल्ने भनिरहेका छन् ।’

लकडाउनका कारण बन्द रहेका जिल्लाको ६ वटै केन्द्र जेठ १५ गतेदेखि सञ्चालनमा आउने तयारीमा छन् । गोसाइँकुण्ड गाउँपालिका–६ को पाङ्लेखर्क चीज उत्पादन केन्द्रका प्रमुख जीतमान जिरेलले जेठ १५ गतेदेखि केन्द्र सञ्चालनमा आउने तयारीमा रहेको बताए ।

जिल्लाका ६ वटै उत्पादन केन्द्र दुग्ध विकास संस्थानले सञ्चालन गरेको हो । क्यान्जिनमा एउटा निजी उत्पादन केन्द्र पनि छ । समयमै दूध संकलन गर्न नसक्दा यस वर्ष चीज उत्पादन घट्ने अनुमान गरिएको छ । जिल्लामा चारवटा उत्पादन केन्द्रबाट गते वर्ष ३९ हजार ६ सय ८० किलो याक चीज उत्पादन भएको थियो ।

गत वर्ष चारवटा केन्द्रले ३९ हजार ६ सय ८० किलो याक चीज र १२ हजार चार सय किलो मखन उत्पादन गरेका हुन् । लाङटाङमा गत वर्ष चार हजार किलो चीज र नौ सय किलो मखन उत्पादन भएको केन्द्र प्रमुख ग्याल्बो तामाङले बताए ।

गोसाइँकुण्ड चीज उत्पादन केन्द्र चन्दनबारीले ११ हजार किलो याक चीज र तीन हजार नौ सय किलो मखन, पाङ्लेखर्क चीज उत्पादन केन्द्रले ११ हजार तीन सय ८० किलो याक चीज र तीन हजार नौ सय किलो मखन र गत्लाङमा १३ हजार तीन सय किलो याक चीज र तीन हजार सात सय किलो मखन उत्पादन भएको थियो ।

दुग्ध विकास संस्थानद्वारा सञ्चालित केन्द्रमा उत्पादन भएको चीज तथा मखन केही मात्रामा स्थानीय बजारमा खपत हुने र बाँकी संस्थानमा नै लैजाने गरिएको छ । जिल्लाको चारवटा केन्द्रमा वार्षिक ३६ हजार केजी चीज उत्पादन गर्ने क्षमता रहेको छ ।

चिसो समयमा दूध कम उत्पादन हुने र नजम्ने समस्या कारण ६ महिना उत्पादन बन्द हुने गरेको उनले बताए । गत्लाङ, धुन्चे र चन्दनबारीको केन्द्रमा वार्षिक १० हजार किलो र लाङटाङमा ६ हजार किलो चीज उत्पादन गर्ने क्षमता छ । जिल्लामा वैशाखदेखि असोज मसान्तसम्म चीज उत्पादन हुने गरेको छ । नागरिक दैनिकमा खबर छ।
हिमनाथ देवकोटा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments