चितवनमा माछालाई पनि अक्सिजन अभाव

चितवन : अत्यधिक गर्मी बढ्दै जाँदा त्यसको असर माछामा पनि देखिन थालेको छ । गर्मीका कारण कृषकले पालेको माछालाई श्वास–प्रश्वासको समस्या देखिन थालेको कृषकहरूले बताएका छन् । पोखरीको साइजको तुलनामा माछाको संख्या र साइज बढ्दै जांँदा अक्सिजन अभाव भएको हो । माछाले दाना राम्रै खाए पनि बिहानको समयमा पोखरीमा माछा मर्न थालेका छन् ।

भरतपुर ६ का कुल चन्द्र खनालले आफ्नो ५ कठ्ठा जग्गामा विगत ६ बर्ष देखि माछापालन गर्दै आउनुभएको छ । विहानपख माछामा अक्सिजनको अभाव भएर मर्ने गरेको कुलचन्द्र खनाल बताउनुहुन्छ । “अक्सिजनको अभाव प्राय विहान पख हुने गर्छ । बादल लागेको समयमा अक्सिजनको कमी हुने गर्छ ।” उहाँले भन्नुभयो, “ आफ्नै पोखरीमा आधा केजीको ‘कमन कार’ जातको माछा मरेको थियो ।” उहाँ ५० जनाको समुहमा ३ विघा क्षेत्रफलमा ५ वटा पोखरीमा माछापालनमा संलग्न हुनुहुन्छ । गत बर्ष लकडाउनका समयमा विभिन्न पेशामा आवद्ध युवाहरुको प्रयासमा परिवर्तन पशुपंक्षी कृषि समुह संचालनमा ल्याएका थिए । ५ वटा पोखरीमा ४ लाख माछाहरु रहेका छन् ।

चितवनमा माछाको पकेट क्षेत्र मानिने माडीका किसान पनि अक्सिजन अभावमा माछा मर्ने गरेपछि चिन्तित बनेका छन् । माडीमा विगत ३ बर्ष देखि माछा पालन गर्दै आउनुभएका किसान तुलसी पौडेलको ७ विघामा १५ वटा माछा पोखरी रहेका छन् । पोखरीमा माछालाई तैरिएको लेउ र फोहोरका कारण अक्सिजन अभाव हुने गरेको उहाँले बताउनुभयो । “गर्मीमा तापक्रम बढ्दै जाने भएकाले पानीमा अक्सिजन घुल्ने क्षमता एकदम न्यून हुन गई माछालाई अक्सिजनको अभाव भएर मर्छन”, पौडेलले भन्नुभयो, “यो समय पोखरीमा माछा बढी हुने समय पनि हो र अहिलेकै समयमा माछालाई अक्सिजन कमी हुन गई ठूलो संख्यामा भकाभक मर्न सक्छन् ।”

यो समस्या चितवनको मात्र हैन यो नेपालको मत्स्य पालक किसानको साझा समस्या हो । चितवनका अधिकांश माछापालक किसान गर्मि लागेसंगै यो समस्या भोग्न वाध्य छन् । मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीका अनुसार चितवनका हरेक जसो किसानबाट यो गुनासो आउने गरेको छ । “गर्मीका कारण तातो पानीमा कम अक्सिजन घुलित हुने गर्दछ । अक्सिजनको कमी हुनुको प्रमुख कारण गर्मी नै हो ।” पोखरीमा पानी धेरै हुंँदा पनि माछा निकाल्न गाह्रो हुने र पानीको तह घट्दा अक्सिजन अभावले माछा मर्ने गरेको उहाँले बताउनुभयो । सबै किसानले प्रविधि प्रयोग गर्न सक्षम नभएको र यसमा सरकारले सहयोग गर्नुपर्नेमा उल्टै माफियाको जालमा सरकारी निकाय फस्ने गर्छन् । उहाँले भन्नुभयो, “माछाको फोहोरा प्रविधिबाट पानी थप्ने, एरिएटर मेसिन जस्ता आवस्यक अनुदानका सामानमा विचौलिया सक्रिय छन् ।” सुवेदीले भन्नुभयो, “प्रविधिमा सहजीकरण सरकारले गर्नुपर्छ । अनि मात्र माछामा अक्सिजनको अभाव हुन नदिन प्रविधिको प्रयोग सहज हुन्छ ।”

तयारी भएका माछालाई दाना दिएर पाल्नुपर्ने र पोखरी सांँघुरो हुंँदा माछा मर्दै जान थालेका छन् । यसवर्ष भूरा, दानाको अभाव र रोगको चपेटामा नपरे पनि क्षमताभन्दा बढी माछा पोखरीमा हुंँदा माछालाई अक्सिजन अभाव भएको हो । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख दयाराम चापागांईका अनसार गर्मीमा तापक्रम बढ्दै जाने भएकाले पानीमा अक्सिजन घुल्ने क्षमता एकदम न्यून हुन गई माछालाई अक्सिजनको अभाव भएर मर्छन् । एक्कासि मौसम परिवर्तन हुँदा, बादल लाग्दा, गर्मी बढ्दा र पोखरीको पानी बढी फोहोर हुँदा अक्सिजनको मात्रा कमी हुन्छ । पोखरीमा अक्सिजनको मात्रा बढाउन फोहोरा प्रविधिबाट पानी थप्न, एरिएटर मेसिन भए बिहान ४ बजेदेखि ६ बजेसम्मको समयमा चलाउन, पोखरीमा रहेका ठूला माछा निकालेर बिक्री गर्न, पोखरीको पानी निकास गर्ने प्रविधि भए निकास गरी फोहोराबाट नयाँ पानी हाल्नु नै यो समस्या निदानको उपाय हो ।

नेपाल मतस्य व्यवसायी संघ, चितवनका अनुसार चितवनमा २ हजार ३८६ वटा पोखरी छन् । जहांँ ८५४ हेक्टरमा माछापालन हुँदै आएको छ । यहांँ १ हजार ३०० माछापालक किसान छन् ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments