अज्ञात रोगले सुन्तलाका बोट मर्न थाले

पर्वत :अज्ञात रोगका कारण विगत तीन वर्षदेखि धमाधम सुन्तलाका बोट मर्न थालेपछि यहाँको एक गाउँका कृषक समस्यामा परेका छन् । फूल फुल्ने र फल पाक्ने बेला रोगको सङ्क्रमण फैलिँदा मोदी गाउँपालिका–२ देउपुरका कृषक पछिल्लो तीन वर्षयता समस्यामा परेका छन् । पाकेको फल धमाधम झरेकाले अहिले बोटमा फलेकामध्ये २० प्रतिशत मात्रै सुन्तला बिक्री गर्न सकिएको किसान बताउँछन् । सुरुमा केही बोटमा देखिएको यो समस्या यस वर्ष भने गाउँभरि फैलिएको छ । स्थानीय माछापुच्छ्रे सुन्तला उत्पादक सहकारीका अध्यक्ष दाताराम चापागाईंका अनुसार दुई वर्षअघि तल्लो दोबाटो गाउँमा देखिएको बोट मर्ने र फल झर्ने समस्या विस्तारै फैलँदै गएको हो ।

उहाँका अनुसार सुन्तलामा दुई प्रकारको रोग देखिएको छ । ‘टाइफुलेट’ जातको भाले किराले सुन्तलाको फूल र बचिला झार्ने तथा पाक्ने बेलामा पनि ‘ग्रिन सिटासिल्ला’ नामको भाइरसका कारण फल झर्ने समस्या देखिएको छ । फूल लाग्ने समयमा देखिएको समस्या समाधानमा किसानले हदैसम्मको प्रयास गरे पनि सम्भव हुन सकेको छैन । कृषि प्राविधिकका अनुसार ‘फेरामेन ट्रयाप’ मा ‘मिथाइल युजिल’ मिलाएर राख्दा टाइफुलेट मथ्र्यो ।

“वर्षौंदेखि आर्थिक उपार्जनको मुख्य स्रोतको रुपमा रहेको सुन्तलाखेतीबाट आम्दानी घटेपछि किसान चिन्तित बनेका छन्, पहेँलपुर हुने यो सिजनमा रित्ता बोट छन्”, स्थानीय बाबुराम बाबुराम तिमिल्सिनाले भन्नुभयो, “झरेर अलिअलि बचेकुचेका दाना पनि बाँदर आएर सखाप पारिदियो ।”

स्थानीय अगुवा किसान भूमिराज शर्माका अनुसार कुनै बेला देउपुरमा मात्रै रु तीन करोड बराबरको सुन्तला उत्पादन हुन्थ्यो । “अहिले गाउँभरि रु ५० लाखको पनि सुन्तला छैन”, उहाँले भन्नुभयो, “यो गाउँमा मात्रै ७०० मध्ये झण्डै ४०० परिवारले व्यावसायिक सुन्तलाको खेती गर्दै आएका छन् ।” सुरुसुरुमा सुन्तला बजारसम्म पु¥याउन समस्या थियो ।

व्यावसायिक सुन्तला खेतीमा लाग्नेको सङ्ख्या पनि बढ्दै गए पनि किसानले आफूखुसी बिरुवा ल्याएर रोप्न थालेपछि समस्या आएको बताइएको छ । खेती विस्तार गर्ने र छिटो आम्दानी लिने लोभमा कृषि प्राविधिकले सिफारिस नगरेका र प्रमाणित नभएका जात र स्थानबाट बिरुवा ल्याउँदा यी रोगसमेत भित्रिएको कतिपय किसानको बुझाइ छ ।

अब गाउँभरिका पुराना सबै बोट हटाएर नयाँ र रोग सहन सक्ने जातका बोट नलगाए देउपुरलाई सुन्तलाको नामले चिनाउन नसकिने अगुवा किसानको भनाइ छ । कृषि ज्ञान केन्द्र प्रमुख मनिता थापाले सुन्तलामा देखिएको यस्तो समस्या एकैपटक समाधान हुन नसक्ने बताउनुभयो । सुन्तलाको बीउ, बिरुवा उत्पादनदेखि फल लाग्ने बेलासम्मको मौसम, जलवायु परिवर्तनलगायत कारण यस्तो समस्या देखिएको हुनसक्ने उहाँको भनाइ छ । उहाँले यो समस्याबारे निरन्तर अध्यनन भइरहेको बताउनुभयो । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?