टोड्के: भिरालो जमिनमा मौलाएको व्यावसायिक मुलाखेती

गलेश्वर: उत्तरतर्फ हात फैलाउदा छोइन्छकी झैं नजिकै देखिने धवलागिरि, नीलगिरि, गुर्जालगायतका आधादर्जन बढी हिमशृङ्खला। पूर्वतर्फ मोहोडा भएको टोड्के हिल रिसोर्टको माथिल्लोपट्टी भिरालो जमिनमा मौलाएको मुलाखेती ।

हिमाललाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्न र टिकटक बनाउन झुम्मिएका आन्तरिक पर्यटक। यतिबेला म्याग्दीको पर्यटकीय क्षेत्र टोड्केमा यस्तै रोमाञ्चक दृश्य देख्न पाइन्छ। टोड्केमा पछिल्ला वर्ष मुलाखेती राम्रैसँग फस्टाएको छ। यहाँ स्थानीय जातको सेतो र रातो रङको मुला लगाइन्छ ।

स्थानीयले बाबुबाजेको पालादेखि लगाउँदै आएको मुलाखेतीलाई अहिले पनि निरन्तरता दिएका छन्। यहाँ जम्मा पाँच घरधुरीको बसोबास छ। ती परिवारले उत्पादन गरेको मुला नेपालका विभिन्न सहरमा मात्रै होइन धजरा, गुन्द्रक, चाना र सुकुटी बनेर कोसेलीको रुपमा युरोप अमेरिकासम्म पनि पुगेको स्थानीय किसान तीजमाया पाइजाले बताइन् ।

टोड्केवासीको मुख्य पेशा मुला तथा आलुखेती हो । स्थानीयवासीले मुला, आलु र फापरको साथमा भेडापालन गर्छन्। भैँसी र भेडाको मल हालेर उत्पादन गरिने हुँदा स्थानीय मुला खोज्दै ग्राहक किन्न आउने गरेको पाइजाले बताइन्। उनका अनुसार एक परिवारले एक मौसममा उत्पादित मुला बेचेर झण्डै लाख रुपैया आम्दानी गर्दछन् ।

चिसो हावापानी, स्थानीय उत्पादन र पर्यटकको रोजाइँका कारण स्थानीय जातको मुलाले टोड्केको पहिचान बनाएको हो। टोड्के धौलागिरि क्षेत्रमै मुलाखेतीका लागि प्रसिद्ध मानिन्छ। जिल्लाको बेनी नगरपालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाको सङ्गमस्थलमा अवस्थित टोड्केमा परम्परागत रुपमा स्थानीय जातको मुला लगाउने गरिएको छ ।

हिउँद र वर्षामा मुलाखेती गर्न सकिन्छ। टोड्केमा एकै मौसममा उत्पादित मुला वर्ष दिनसम्म खान पुग्छ । आफूहरुले बाजेको पालादेखि नै स्वर्गद्वारीबाट मुलाको बीउ लिएर लगाएको र अहिले पनि तीन रोपनीमा मुलाखेती गरेको पाइजाले बताइन्। मुला किन्न आउनेलाई बारीमै ठूलो मुलालाई ५० र सानालाई २५ रुपैयाँमा बेचिन्छ। विषादी प्रयोग नगर्दा उत्पादन राम्रो तथा गुणस्तरीय हुन्छ। ग्राहक स्थानीय जातको मुला खोज्दै किसानको बारीमा नै पुग्ने गरेका छन् ।

परम्परागत खेती प्रणालीमा आधारित रहेर प्राङ्गारिक मल प्रयोग गरेपछि मुलाको तौल बढ्ने गरेको टोड्केका अर्का व्यवसायी मीनबहादुर थजालीले बताए। जिल्लाकै पहिचान बोकेको टोड्केको मुलाखेतीलाई प्रोत्साहन गर्न किसानले आफूहरुलाई कृषि आंैजार, उपकरण र अनुदान सहयोगको माग गरेका छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments