साइलेज अब आफै बनाउनु होस्, पूरा तरिका जानिराखौ

काठमाडौं : हरियै अवस्थाको घाँस तथा घाँसेबालीलाई उपयुक्त समयमा काटी त्यसबाट ३० देखि ३५ प्रतिशत पानीको मात्रा घटाई १ देखि ३ इञ्चका टुक्रा पारी हावा पस्न नसक्ने गरी खाडल वा पोलिव्यागमा तहतह बनाई खाँदि खाँदि दम्म पारेर घाँसमा रहेको सम्पूर्ण पोषण तत्वहरुलाई कायमै राखी अमिलिकरण (ensiling process) बाट तयार पारिएको पदार्थलाई साइलेज (Silage) भनिन्छ ।

साइलेजवाट हुने फाइदाहरूः

१- साइलेज घाममा सुकाउनु नपर्ने भएकाले वर्षायाममा पनि बनाउन सकिन्छ ।

२- पोषिलो हुने हुँदा दुध उत्पादनमा बृद्धि र पशुहरुलाई स्वस्थ राख्न सहज हुने ।

३- मकैको टुप्पो, उखुको टुप्पो जस्ता मोटो डाँठ भएका घाँसपातवाट साइलेज बनाउन सकिन्छ ।

४- साइलेज हरियो घाँसको बढी उपलब्धता हुने समय खासगरी वर्षायाममा बनाइन्छ र १ महिनामा नै तयार हुने भए पनि उक्त समयमा प्रशस्त ताजा हरियो घाँस नै पाइने हुनाले हिउँदको समयमा साइलेज खुवाउँदा यसको उपयोगिता बढ्छ ।

५- हरियो घाँसलाई संरक्षण गर्दा कम ठाउँको आवश्यकता पर्दछ ।

६- झारपातलाई पनि साइलेजको रूपमा उपयोगमा ल्याउन सकिन्छ साथै धेरैजसो झारपातको बीउ सडेपछि उमारशक्ति नष्ट हुन्छ र झारपात नियन्त्रण गर्न मद्दत पुर्याउँछ ।

७- भिटामिन ए बन्ने तत्त्व “क्यारोटिन” साइलेज बनाउँदा कम मात्रामा नष्ट हुन्छ ।

८- साईलेज बन्ने प्रकृयामा बिरुवामा भएको हानिकारक नाईट्रेट्सलाई न्युनिकरण गर्ने काम गर्दछ ।

साइलेज बनाउन प्रयोग हुने घाँसको गुणः-

राम्रो साइलेज बन्न सजिलैसँग घुलनशील गुलियो प्रशस्त मात्रामाहुनु पर्दछ । मकै, जुनेलो, उखुको टुप्पो, बाजरा, टियासेन्टी जस्ता घाँसको डाँठमा गुलियोपना हुने भएकोले त्यस्ता घाँसहरू साइलेज बनाउन उपयुक्त हुन्छन् । साइलेज बनाउने खाडल वा भाँडा वा संरचनालाई साइलो वा साइलोपिट भनिन्छ ।

साइलेज बनाउने तरिका :

१- साइलेज बनाउनको लागि बाला पसाउने समयमा घाँस काट्नु उपयुक्त हुन्छ ।

२- घाँसलाई २-४ इन्चको टुक्रा पार्नुपर्दछ र ६० देखि ६५ प्रतिशत मात्र चिस्यान भएको घाँस साइलेज बनाउनका लागि उपयुक्त हुने भएकाले घाँस धेरै भिजेको भए ओइल्याएर मात्र साइलेज बनाउनु राम्रो हुन्छ ।

३- खाडलको पिँधमा प्लाष्टिक वा केराको पात विछाउनुपदर्छ ।

४- टुक्रा टुक्रा काटेका घाँसहरू खाडलमा राख्ने र सकभर छिटो छिटो कसिलो हुने गरी खाँदै काम गर्दा तहतह परेर बस्दछ र हावा बाहिर निस्कन्छ । यसरी दिन दिनै काटेको घाँसलाई सकेसम्म कम समयमा खाडलमा पुर्ने काम गर्नुपर्दछ ।

५- साइलो भरिसकेपछि माथिवाट पानी तथा हावा नछिर्ने गरी प्लाष्टिक वा केराका पातहरूले राम्ररी छोपी १२-१५ सेमिसम्म चारैतिर छोपेर माटोले लिपी दिनुपदर्छ । माथिवाट ढुङ्गा, मुढा इँटा आदिले थिच्नु पर्दछ । राम्रो साइलेज बन्नका लागि ३० देखि ३८ डिग्री सेन्टिग्रेडसम्म तापक्रमको आवश्यकता पर्ने हुन्छ र हावा तथा पानी छिर्यो भने साइलेजको गुण विग्रन सक्दछ ।

साइलेज बनाउने खाडल :-

खाडल बनाउनका लागि जमिन अलि भिरालो परेको र पानी नजम्ने खालको हुनुपदर्छ । आफनो गाई-भैंसीको संख्या हेरी ५ फिट जति गहिरो, मुखमा ६ देखि ७ फिट व्यास र पिँधमा ४ देखि ५ फिट व्यास भएको गोलो आकारको हुनुपदर्छ, अथवा पशुको संख्या केही धेरै भएमा फराकिलो खाल्डो पनि बनाउन सकिन्छ ।

राम्रो साइलेजमा हुनुपर्ने गुणहरूः

राम्रो खालको साइलेज समाउँदा नरम, रसिलो, अमिलो मिठो बास्ना आउने, हेर्दा हरियो पहेंलो रङको र ३.८ देखि ४.२ सम्म पि.एच. हुनपदर्छ तर कुहिएको गन्हाउने, ढुसी परेको र समाउँदा च्यापच्याप भएको हुनु हुँदैन ।

साइलेज बनाउँदा हुने नोक्सानी :
पिँध, भित्तामा टाँसेर र ढुसी परेर कुहिने – ४-१३%
घुलनशील तत्त्वहरू चुहिएर – ३-१०%
पानी र ग्यासको फर्मेन्टेशन प्रक्रियाद्वारा – ५-१०%

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments