राजी समुदायको पुर्ख्यौली पेसा ओझेलमा

कञ्चनपुर:कञ्चनपुरका विभिन्न क्षेत्रमा बसोबास गर्ने राजी समुदायको पुर्ख्यौली पेसा ओझेलमा परेको छ । उनीहरूले माछा मार्ने, मौरी पाल्ने, सिकार गर्ने तथा वन क्षेत्रबाट जडीबुटी सङ्कलन गर्ने काम गर्दै आएका छन् ।

यस क्षेत्रका नदी छेउछाउका बस्तीमा राजी समुदायको बसोबास छ । वन क्षेत्र संरक्षण गरी सामुदायिक वनका रुपमा विकास हुन थालेपछि उनीहरुलाई जीविकोपार्जनमा समस्या हुन थालेको हो । राजी समुदायलाई प्रकृति पूजकका रुपमा लिने गरिन्छ । “पहिला पर्याप्त जङ्गल थियो, जङ्गली जनावरको सङ्ख्या पनि धेरै थियो, माहुरीको मह सहजरूपमा फेला पार्न सकिन्थ्यो”, कृष्णपुर नगरपालिका–४ दयाअमरपुरकी बासमती राजीले भन्नुभयो, “बस्दै आएको बस्ती नजिकैका नदी तलाउमा माछा पर्याप्त पाइन्थे, पहिला जस्तो अहिले छैन, वन क्षेत्र पस्नै पाइँदैन, सिकार गर्न बन्देज छ ।” प्रकृतिसँग प्रत्यक्ष जोडिएका समुदायको पेसा खोसिएकामा उहाँ चिन्तित हुनुहुन्छ । उहाँले भन्नुभयो, “नयाँ पुस्ताका युवा युवतीहरुले पुर्ख्यौली पेसाबारे अनभिज्ञ छन् । पुराना सीप, कला संस्कृति, वेशभूषा, रहनसहन र चालचलन हराउँदै गएका छन् ।” यो समुदायमा भगाएर, मागेर र तानेर विवाह गर्ने चलन थियो तर अहिले तानेर विवाह गर्ने चलन हराउँदै गएको बासमती बताउनुहुन्छ ।

पुर्ख्यौली पेसा खोसिएपछि राजी समुदायले विकल्पका रुपमा कृषि मजदुरका रुपमा काम गर्दै आएका छन् । समुदायका बालबालिकाले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गरेका छैनन् । अभिभावकसँगै परिवारको गर्जो टार्न उनीहरु पनि मजदुरीमा जानु पर्ने बाध्यताले बीचमै विद्यालय छाड्नुपर्ने अवस्था रहेको बासमतीले बताउनुभयो । उहाँका अनुसार हालसम्म जिल्लामा कोही पनि राजी समुदायबाट उच्च शिक्षा पढेका युवाहरु छैनन् ।

चेतनाको स्तर कमजोर हुँदा समुदाय नै पछाडि परेको देउपाल राजीले बताउनुभयो । “चेतनास्तरमा परिवर्तन ल्याउन सके अरू समुदाय जस्तै अगाडि बढ्न सक्छौँ”, उहाँले भन्नुभयो । देउपालले पूँजीको अभावका कारण राजी समुदाय शिक्षा तथा आर्थिकरुपमा पछाडि परेको बताउनुहुन्छ ।

“धेरै परिवारले विगतमा कमैया बसेर काम गरे, मालिकबाट छुटकारा पाउँदा पुनःस्थापन गराइएको पाँच कट्ठा जग्गा र त्यसमा बनेको कच्ची घर मात्रै सम्पत्तिका रुपमा छ”, उहाँले भन्नुभयो, “पाइएको जग्गा बैंकमा धितो राख्न पाइँदैन, अरू निकायबाट पूँजी नपाउँदा मजदुरी बाहेक अर्को विकल्प छैन ।” सरकारले बिना ब्याजमा ऋण उपलब्ध गराएमा यहाँका युवाहरुले व्यावसायिक काम गर्न सक्ने उहाँको भनाइ थियो । धेरै परिवारको आर्थिक अवस्था दयनीय भए पनि युवाहरुले मजदुरी गरेको पैसाले व्यावसायिक सीप सिकेर व्यावसायमा जोडिन लागेकोप्रति उहाँले सन्तुष्टि व्यक्त गर्नुभयो ।

स्थानीय स्वास्थ्य चौकीमा उपचार सेवा प्राप्त भए पनि गम्भीर बिरामी हुँदा उपचारबाट वञ्चित हुनुपरेको रम्चे राजीले बताउनुभयो । राजनीतिमा राजी समुदायबाट प्रतिनिधित्व नहँुदा स्थानीय तहमा बन्ने योजनामा आफ्ना मुद्दा समेट्न नसकेको उहाँले गुनासो गर्नुभयो ।

लोपोन्मुख जातजातिका रुपमा रहेका कुसुण्डा, राउटे, हायु, किसान, मेचे, वनकरिया, सुरेल, लोप्चा, सुकवाडियासँगै राजी जातिका व्यक्तिले सामाजिक सुरक्षा भत्ता भने पाउने गरेका छन् । विसं २०६८ को जनगणनाअनुसार कैलाली, कञ्चनपुर, सुर्खेत, बर्दिया, बाँके र दाङमा गरी राजी समुदायको जनसङ्ख्या चार हजार दुई सय ३५ छ । कञ्चनपुरमा राजी कृष्णपुर र वेदकोट नगरपालिकामा ३० घरघुरीमा एक सय ५० जनाको बसोबास छ ।

राजी समुदाय विसं २०२४ अघि सुर्खेतबाट बसाइँ सरेर कैलाली र कञ्चनपुरमा बस्न आएका हुन् । “यहाँ पहिले धेरै राजी परिवारको बसोबास थियो । यहाँका अन्य समुदायका व्यक्तिले जग्गा कब्जा गरी पुख्र्यौली पेसा खोस्न थालेपछि पुनः पुरानै ठाउँमा फर्किन थालेका छन्”, हरिभान राजीले भन्नुभयो ।

जीविका चलाउनका लागि स्थानीय तहले सीपसँगै पूँजीको व्यवस्था गरिदिनु पर्ने तथा पुरानो पेसालाई जोगाउन सोहीअनुसारका कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?