उखु किसानले पाएनन् सरकारबाट पाउनुपर्ने अनुदान

रौतहट: सरकारबाट पाउनुपर्ने अनुदान वापतको रकम नपाएपछि रौतहटका उखु बिक्रेता किसान चिन्तित छन् । आर्थिक वर्ष २०७९/८० मा प्रतिक्विन्टल ७० रुपियाँ अनुदान दिने भनिएको रकम हालसम्म पनि नपाएपछि उखु बिक्रेता किसान चिन्तित बनेका हुन् ।

सरकारले उक्त आवका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६१० रुपियाँ निर्धारण गरेको थियो । त्यसमध्ये उद्योगले प्रतिक्विन्टल ५४० रुपियाँ र सरकारले ७० रुपियाँ गरी किसानलाई प्रतिक्विन्टल ६१० रुपियाँ भुक्तानी गर्ने सहमति भएको थियो ।

गढीमाई नगरपालिका–२ का उखु उत्पादक किसान कामेश्वर सहनीले सहमतिबमोजिम पाउनुपर्ने अनुदानको करिब तीन लाख रुपियाँ हालसम्म नपाएको गुनासो गर्नुभयो । रकम भुक्तानी नहुँदा अन्य खेती गर्न र घरव्यवहार चलाउन समस्या भएको उहाँ बताउनुहुुन्छ ।

गरुडा नगरपालिकाका उखु उत्पादक किसान नरेन्द्र ठाकुरका अनुसार नगदे बालीका रूपमा सरकारले नै वर्गीकरण गरेको उखुको अनुदान मूल्य समयमा भुक्तानी नहुँदा जिल्लाका सम्पूर्ण उखु उत्पादक किसान समस्यामा परेका छन् । उहाँले अनुदानवापतको दुई लाख रुपियाँ पाउनुभएको छैन । उखु खरिद गर्ने उद्योगले उखुको मूल्य भुक्तानी गरिसकेको छ तर सरकारबाट पाउनुपर्ने रकम मात्रै बाँकी रहेको स्थानीय किसानको भनाइ छ ।

चिनी उत्पादक उद्योगले किसानसँग खरिद गरेको उखुको तथ्याङ्क समयमा सरकारलाई उपलब्ध नगराएको कारण अनुदानको रकम वितरणमा ढिलासुस्ती भएको जिल्ला उखु उत्पादक सङ्घका अध्यक्ष अशोक यादवले बताउनुभयो । उहाँका अनुसार सङ्घले उखुको तथ्याङ्क पठाउन उद्योगलाई ताकिता गरिरहेको छ ।

सरकारले अनुदानबापतको रकम समयमा भुक्तानी नगर्नु र उद्योगले कम मूल्यमा उखु खरिद गर्न खोज्दा जिल्लामा पछिल्लो समय उखुखेतीप्रति किसानको आकर्षण घटेको छ ।

उत्पादक सङ्घका जिल्ला सचिव सफिन्द्र यादवको भनाइ छ । उहाँका अनुसार जिल्लाको ठुलो चिनी उद्योग श्रीराम सुगर मिल्स बन्द भएको कारण किसानले सर्लाहीको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योग र जिल्लामै रहेको बाबा बैजनाथ सुगर एन्ड केमिकल्स उद्योगलाई उखु बिक्री गर्ने गरेका छन् ।आजको गोरखापत्र अनलाइनमा खबर छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments