कुशे औँसी : आश्रममा छोरा कुरिरहेका बा !

ढोरपाटन (बागलुङ):आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भेटेर मीठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुबालाई भेट्न नसक्नेले भने फोन तथा श्रव्यदृश्य फोनका माध्यमबाट बुबाको मुख हेर्ने गर्छन् । आजको दिन आफ्ना छोराछोरीसँगै होउन् भन्ने हरेक बाआमालाई हुन्छ ।

बागलुङको बागलुङ नगरपालिका–१३ पैयुँपाटाका ७० वर्षीय केशवराज पाठकलाई पनि त्यस्तै लागेको थियो । तर उनले चाहेर पनि आफ्नो सन्तान सँगसँगै हुन पाएका छैनन् । अहिले उनी मानव सेवा आश्रम बागलुङमा आश्रय लिएर बसेका छन् । हरेक दिन आश्रमको प्रवेशद्वार नजिकै अनुहार चाउरिएको, सेतै कपाल फुलेका तथा हातमा सानो मोबाइलमा गीत बजाएर सुनिरहेको अवस्थामा भेटिनुहुने पाठक आफ्ना छोराहरु लिन आउँछन् भन्ने आशमा छन्। उनको निन्याउरो अनुहारमा धेरै निरास र अलिअलि आशाका किरण देखिन्छन् । पाठकले मानवसेवा आश्रमभित्र प्रवेश गर्ने सबैलाई नमस्ते गर्दै स्वागत गर्ने गर्छन् । पाठक दुई वर्षदेखि मानव सेवा आश्रममा बस्दै आएका छन् । उनले घरीघरी छोराहरुलाई सम्झन्छन् । तर छोराहरु भने उनलाई सम्झँदैनन् ।

पाठकका तीन भाइ छोरा छन् । जेठो र माइलो भारतको वनरासमा छन् भने कान्छो छोरा भने कुवेतमा छन् । पाठकका दुई बुहारी र छ नातीनतिना पनि छन् तर उनलाई कसैले पनि सम्झिन्न् । तीन वर्ष अगाडि श्रीमति गुमाएका पाठक कान्छी बुहारीसँग केही महिना बिताए । पोखराबाट लुम्बिनी जाने क्रममा बीच सडकमै अलपत्र पारेर छोरा बुहारी सम्पर्कविहीन भएपछि पाठक बागलुङ फर्किए । बागलुङ फर्किएपछि मानव सेवा आश्रममा आए । अहिले पाठकको दैनिकी आश्रममै बित्ने गरेको छ ।

आज भाद्र कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजको दिनले पाठकलाई निकै पिरोल्ने गर्छ । छोराहरुले सानो छँदा बाबा भनेर आङ्गालो र ठियुँमा झुन्डिएको यादले यहाँलाई सताउने गर्छ । अहिले तिनै छोराले नसम्झिँदा मन दुख्ने पाठकले बताए । छोराहरु हुर्काउन, बढाउन र पढाउन आफूले निकै सङ्घर्ष गरेको सुनाए । अझै पनि छोराहरुले आफूलाई साथैमा लिएर पाल्ने आश उनमा छ । तर जेठो र माइलोसँग चार वर्षदेखि र कान्छोसँग तीन वर्षदेखि उनको सम्पर्क भएको छैन ।

“म सामान्य परिवारको मान्छे हुँ, मेरा छोराहरुले दुःख पाउँछन् भनेर मैले २० वर्ष भारतमा रगत पसिना बगाएर धन कमाएँ, बुढीले गाउँघरमा हात खुट्टा बजारेर उनीहरुलाई हुर्काइन्, उनीहरुले पढ्न जाहे जति पढाएँ पनि, जब बुढी बिती, त्यसपछि छोराहरुले मलाई हेर्न छोँडे”, पाठकले भने, “अब हातपाखुरा बस्न थाले, छोराहरुले पनि मलाई एक्लो बनाए, किन मलाई यस्तो ठाउँमा पु¥याए मैले केही बुझ्न सकेको छैन, अझै पनि आश त लाग्दो रैछ लैजान्छन् कि भन्ने तर अहिले कहाँ छन्, के गर्दैछन् केही थाहा छैन ।”

पाठकले छोराहरु पाल्नका लागि पुस माघको जाडोमा खाली खुट्टा स्याङ्जाबाट नुन र चामल बोकेर ल्याएर खुवाएको भन्दै अहिले त्यो दुःख भुलेर छोराहरुले आफूलाई हेला गरेको बताए । गाउँमा थोरै जग्गा जमिन भए पनि आफू आश्रममै बस्ने गरेको पाठकले बताए । कुशे औँसीमा आफूले बाबाको मुख हेर्ने गर्दा छोराहरुले त्यो सिके पनि अहिले स्वार्थी बनेको गुनासो पोखे ।

पछिल्लो समय पाठकलाई जस्तै धेरै सन्तानले आफ्ना बाबाआमालाई आश्रममा राख्ने गरेको पाइन्छ । अहिले धेरै युवायुवती प्रदेशमा छन् । गाउँमा बूढा बाआमा मात्रै छन् । पाठकले समय समयमा आफ्नो परिवारलाई सम्झेर निरास हुने गरेको मानव सेवा आश्रम बागलुङकी प्रमुख विपना तामाङले बताए । परिवारले नहेरेपछि पाठकलाई आश्रममा ल्याइएको तामाङको भनाइ छ । अहिले पाकठले आश्रममा निकै इमान्दार भएर बसेको भन्दै सकेको कामसमेत गर्ने गरेको उनले बताए ।

“बुबाले आफ्नो छोराहरुलाई धेरै सम्झिनुहुन्छ, तर छोराहरु कहाँ हुनुहुन्छ भन्ने थाहा छैन, उहाँले विदेश छन् भन्नुहुन्छ, अहिलेसम्म उहाँहरु बुबालाई भेट्न एक पटक पनि यहाँ आउनुभएको छैन, धेरै दुःखका कुरा गर्नुहुन्छ”, तामाङले भने”, “यहाँ बस्न थालेको धेरै समय भयो, बूढाबूढी मान्छे सकेको काम गर्न खोज्नुहुन्छ, आश्रममा धेरै बालबालिका पनि छन् उनीहरुलाई हेर्ने, अरु काम पनि गर्छु भन्नुहुन्छ, जस्तो भए पनि बुबालाई भेट्न आउनुपथ्र्यो, छोराहरु आए हुन्छ ? भन्दा जान्छु भन्नुहुन्छ, बेला बेला निराश हुने गर्नुहुन्छ, हामीले सम्झाउने गरेका छौँ ।” रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?