देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

चट्याङ

काठमाडौं :हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा अधिकांश स्थानमा मौसम बदली भई वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमै रहेकाले आगामी २४ घण्टासम्म देशभर वर्षाको यो क्रम जारी रहनेछ।

विभागले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। यी चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। बाँकी प्रदेशहरूका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुनेछ।

त्यसैगरी, आज राती पनि देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ। राती विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने यी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान छ।

विभागले उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेकोसमेत जानकारी दिएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम हुन सक्ने हुनाले नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्नेछ। विभागले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र सम्भावित क्षतिबाट जोगिन अनुरोध गरेको छ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?