मनसुन सक्रिय: देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

चट्याङ

काठमाडौं। हाल देशभर सक्रिय रहेको मनसुनी वायुको प्रभावले मौसम बदली भई अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशका विभिन्न भागमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ।

महाशाखाले आज दिउँसो र राती देशका विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा हुने जनाएको छ। विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। बाग्मती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसैगरी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। राती विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (डेब्री फ्लो) को जोखिम रहेको छ। साथै, नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र त्यसले दैनिक जनजीवन तथा यातायात क्षेत्रमा समेत प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?