आज देशभर मनसुन सक्रिय: पहाडी भू-भागमा मध्यम तथा केही प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको हाराहारीमा र पश्चिममा केही उत्तरतिर सरेकाले देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना बढेको हो।
महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम सामान्यतया बदली रहनेछ। देशका पहाडी क्षेत्रका केही स्थानमा र बाँकी तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
विशेषगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। साथै, उच्च-पहाडी तथा हिमाली भू-भागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राती पनि देशभरको मौसम बदली भई अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
राती कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने हुनाले नदी तटीय क्षेत्र र पहाडी सडकमा यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सबैलाई अनुरोध गरेका छन्।
