देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, आषाढ ३१ गते।
महाशाखाले जारी गरेको पूर्वानुमान अनुसार, दिउँसो देशभरको मौसम सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै देशका अन्य पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी, उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुनसक्नेछ।
आज राती पनि देशभर मौसम सामान्यतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राती कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च-पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहनेछ भने कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरि चल्न सक्ने पूर्वानुमान छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने, यातायात क्षेत्र (हवाई तथा सडक) प्रभावित हुन सक्ने तथा हावाहुरि र चट्याङबाट हुन सक्ने जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ।
