” टोखामा संस्कृति संरक्षणको प्रयास: हातले कुटेको ताइचिन चिउराको मौलिक स्वाद “
काठमाडौं: ओखलमा मुसल ठोक्किएको एकनासको आवाज, भुटेको धानको मगमग बास्ना र परम्परागत भेषभुषामा सजिएका आमाहरू… यो दृश्य काठमाडौंको टोखामा हरेक शनिबार लाग्ने मेलाको हो , जहाँ टोखा-३ का महिला उद्यमीहरूको समूहले लोप हुन लागेको हातले चिउरा कुट्ने परम्परालाई जीवन्त राख्ने प्रयास गरिरहनुभएको छ।
आधुनिक मेसिनले मिनेटमै क्विन्टल चिउरा तयार पार्ने आजको समयमा उहाँहरू घण्टौंको मेहेनतपछि मात्र केही माना चिउरा तयार पार्नुहुन्छ। उहाँहरूले बनाइरहेको चिउरा प्रख्यात ताइचिन धानको हो, जसलाई उहाँहरू प्रति माना १०० रुपैयाँमा बिक्री गरिरहनुभएको छ।
कसरी बन्छ हातले कुटेको चिउरा ?
यो प्रक्रिया निकै मेहेनतपूर्ण छ। सुरुमा धानलाई उसिनेर माटोको भाँडोमा भुटिन्छ। तातो भुटेको धानलाई काठको ओखलमा राखेर दुई जनाले पालैपालो मुसलले कुट्नुहुन्छ। ओखलमा चिउरा तयार भएपछि त्यसलाई नाङ्लोमा राखेर निफन्ने र केलाउने गरिन्छ, जसबाट भुस र चिउरा अलग हुन्छ। “यो हाम्रो संस्कृति हो, जुन अब हराइसक्यो,” एक आमाले बताउनुभयो, “नयाँ पुस्तालाई यस्तो पनि हुन्छ भनेर देखाउन हामीले यो काम गरिरहेका छौं।”
संस्कृति संरक्षणको चुनौती
यो समूहले सधैं व्यावसायिक रूपमा चिउरा उत्पादन गर्नुहुन्न। विशेषगरी मेला-महोत्सव र कसैले अर्डर दिएको खण्डमा मात्र उहाँहरूले यो काम गर्नुहुन्छ। “पहिले-पहिले घरमा खानलाई पनि यसरी नै बनाइन्थ्यो, बत्ती थिएन, मिल थिएन,” समूहकी अर्की सदस्यले पुराना दिन सम्झँदै भन्नुहुन्छ, “अहिले त घरमा खानलाई हामी पनि बजारमै किन्छौं। यो काम गर्न निकै गाह्रो छ।”
हातले बनाएको चिउराको मूल्य सुनेर कतिपयले महँगो भने पनि यसमा लागेको श्रम र समयको ख्याल नगर्ने गरेको उहाँहरू बताउनुहुन्छ। उहाँहरूका अनुसार, यो केवल चिउरा बनाउने प्रक्रिया मात्र होइन, यो एउटा पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्न खोजेको सीप, पहिचान र इतिहास हो। यस्ता परम्परागत उत्पादनहरूलाई संरक्षण र प्रवर्द्धन गर्न नसके यी मौलिक स्वाद र सीपहरू कथामा मात्र सीमित हुने दिन टाढा छैन।
