कालीमाटीमा आजको तरकारी तथा फलफूलको भाउ: करेला सबैभन्दा सस्तो,मूल्य रू १० मात्रै
काठमाडौं, श्रावण ०७ : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधवारका लागि कृषि उपजहरूको थोक मूल्यसूची सार्वजनिक गरेको छ। सार्वजनिक मूल्यसूची अनुसार केही तरकारीको मूल्य आकाशिएको छ भने केही निकै सस्तो भएका छन्।
समितिका अनुसार, आज बजारमा सबैभन्दा महँगो तरकारीमा पार्सले परेको छ, जसको थोक मूल्य प्रतिकेजी न्यूनतम रू १,१०० देखि अधिकतम रू १,२०० सम्म तोकिएको छ। यस्तै, तितो करेला भने सबैभन्दा सस्तो देखिएको छ, जसको मूल्य प्रतिकेजी रू १० देखि २० मात्रै रहेको छ।
दैनिक उपभोग्य तरकारीमध्ये भारतीय रातो आलुको थोक मूल्य प्रतिकेजी न्यूनतम रू ३० देखि ३५, मुडेको रातो आलु र सेतो आलु रू ३८ देखि ४० तथा भारतीय सुकेको प्याज रू ३८ देखि ४० सम्म कायम भएको छ। यसैगरी, स्थानीय काउलीको मूल्य प्रतिकेजी रू ८०-१००, ज्यापु काउली रू ११०-१२० र तराई काउली रू ६०-७० रहेको छ भने लोकल बन्दा रू ३० देखि ३८ मा कारोबार भइरहेको छ।
यस्तैगरी, लौका, घिरौला, भिण्डी, चिचिण्डो, लाम्चो भन्टा र हरियो लाम्चो फर्सी जस्ता तरकारीहरूको मूल्य प्रतिकेजी रू २० देखि ३० को हाराहारीमा रहेको छ। तर, बोडीतर्फ भने मकै बोडी रू ९०-१००, घिउ सिमी (राजमा) रू १००-१२० र भटमासकोशा रू १२०-१३० सम्म पुगेको छ।
हरियो सागपातको मूल्यमा भने धेरै उतारचढाव देखिएको छ। हरियो धनिया, रातो बन्दा र गुन्द्रुकको मूल्य प्रतिकेजी रू ३००-३५० पुगेको छ। यस्तै, हरियो प्याज रू १८०-२२०, पुदीना रू १८०-२०० र सौफको साग रू १५०-१६० मा कारोबार भइरहेको छ। तोरीको साग रू ५०-६० मा पाइँदा रायो साग र जिरीको साग रू ८०-१०० सम्म पुगेको समितिले जनाएको छ।
यसैगरी, च्याउ, कुरिलो र सजिवन जस्ता तरकारीको मूल्य पनि उच्च रहेको छ। सिताके च्याउ प्रतिकेजी रू ८००-९००, डल्ले च्याउ रू ३००-३५०, कुरिलो र सजिवन रू २००-२५० तथा कन्य च्याउ रू १२०-१५० मा बिक्री भइरहेको छ।
फलफूलतर्फ, केरा प्रति दर्जन रू १२५ देखि १३५ मा कारोबार भइरहेको छ। आँप (मालदह, दसहरी, कलकत्ते) को मूल्य प्रतिकेजी रू १३०-१४० छ। नेपाली मेवा प्रतिकेजी रू ८० देखि रू ९०,भारतीय मेवा रू १०० देखि रू १२०, स्याउमा झोले स्याउ रू २२०-२५० र फूजी स्याउ रू ३००-३५० रहेको छ। यस्तै, अनार र कालो अंगुरको मूल्य रू ३००-३५०, हरियो अंगुर, जुनार र चाइनिज नासपाती रू २००-२५० को हाराहारीमा छन् भने लोकल नासपाती रू ३०-४० मै उपलब्ध छ।
मसलाजन्य उपजमा, सुकेको खुर्सानी रू ३००-३५०, अकबरे खुर्सानी रू २००-२५०, चाइनिज सुकेको लसुन रू १८०-२०० र नेपाली सुकेको लसुन रू १४०-१६० मा बिक्री भइरहेको छ। हरियो खुर्सानी भने प्रतिकेजी रू ३० देखि ४० मा पाइन्छ। अदुवाको मूल्य रू ९०-१०० रहेको छ भने कागती रू १२०-१५० सम्ममा कारोबार भइरहेको छ।
समितिले ताजा माछाको मूल्य पनि तोकेको छ, जसमा रहु माछा प्रतिकेजी रू ३१०-३३०, बचुवा माछा रू ३००-३२० र छडी माछा रू २२०-२५० रहेको छ। यसका साथै, तामा र तोफु प्रतिकेजी रू १०० देखि १२० मा उपलब्ध छन्।
