आज देशभर वर्षाको सम्भावना, पहाडमा भारी वर्षा र तराईमा हावाहुरीको चेतावनी

काठमाडौं, श्रावण ११ गते।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज (आइतबार) देशभर मनसुनी वायुको प्रभावले मौसम बदली भई अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। विभागले देशका पहाडी भू-भागमा भारी वर्षा र तराईका केही क्षेत्रमा हावाहुरीको समेत पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम साधारणतया बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरू र तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

यसैगरी, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ।

आज राती पनि देशभर मौसम सामान्यतया बदली नै रहनेछ। कोशी र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

राती पनि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहनेछ।

विभागले भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने, नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र हावाहुरीबाट हुन सक्ने क्षतिप्रति सचेत रहन सबैलाई आग्रह गरेको छ। साथै, यातायात क्षेत्रमा समेत वर्षाले प्रभाव पार्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?