जुम्लाको स्याउको ब्रान्ड जोगाउन सांसद शाहीको अपिल, भदौ १५ अघि स्याउ नटिप्न आग्रह 

जुम्ला :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट जुम्लाका प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले जिल्लाका किसानहरूलाई भदौ १५ गतेभन्दा अगाडि स्याउ नटिप्न हार्दिक अपिल गरेका छन्। काँचो स्याउ टिप्ने प्रवृत्तिले जुम्लाको स्याउको गुणस्तर र पहिचानमाथि ग!म्भीर असर परिरहेको भन्दै उनले यस्तो आग्रह गरेका हुन्।

सांसद शाहीले एक सार्वजनिक अपिल जारी गर्दै जुम्लाको स्याउ नेपालभरि र अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो अद्वितीय स्वादका लागि प्रख्यात रहेको तर समय नपुग्दै स्याउ टिप्दा यसको ब्रान्डमा क्षति पुगेकोमा चिन्ता व्यक्त गरेका छन्। “पछिल्ला केही वर्षदेखि भदौ १५ अगावै काँचो स्याउ टिप्ने प्रचलन बढ्दै गएको छ, जसले गर्दा हाम्रो स्याउको गुणस्तर खस्किँदै गएको र जुम्लाको स्याउको ब्रान्डमा नकारात्मक असर परिरहेको छ,” शाहीले आफ्नो अपिलमा उल्लेख गरेका छन्।

उनले काँचो स्याउ टिप्दा देखिने मुख्य समस्याहरूतर्फ किसानहरूको ध्यानाकर्षण गराएका छन्। अपिलका अनुसार, समयअगावै टिपिएको स्याउमा वास्तविक स्वाद र पौष्टिकताको कमी हुने, भण्डारण क्षमता घट्ने, बजारमा राम्रो मूल्य नपाउने र सबैभन्दा महत्वपूर्ण, ‘जुम्लाको स्याउ’ को ब्रान्ड छविमा अपूरणीय क्षति पुग्ने खतरा रहन्छ।

“काँचो स्याउ बजारमा पुग्दा उपभोक्ताको विश्वास घट्छ र हाम्रो वर्षौंदेखिको पहिचान र गौरवमाथि प्रश्न उठ्छ,” शाहीले भने, “केही दिनको धैर्यताले हाम्रो स्याउलाई पूर्ण रूपमा पाक्न मद्दत गर्छ। यसले किसान दाजुभाइ-दिदीबहिनीहरूलाई राम्रो बजार मूल्य दिलाउनुका साथै जुम्लाको स्याउको साख जोगाउन पनि मद्दत गर्नेछ।”

उनले सम्पूर्ण जुम्ली किसानहरूलाई एकजुट भई जुम्लाको स्याउको गौरवशाली परम्परालाई कायम राख्न र यसलाई अझ उचाइमा पुर्‍याउन सहयोग गर्न आग्रह गरेका छन्। जुम्लाको स्याउ यहाँका हजारौं किसानहरूको आयस्रोत र जिल्लाको आर्थिक मेरुदण्डको रूपमा रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?