देशका अधिकांश भागमा मनसुन कमजोर, राति कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं, भदौ ४। आज (बुधबार) देशका अधिकांश भू-भागमा मनसुन केही कमजोर रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा आफ्नो सरदर स्थानभन्दा दक्षिणतर्फ सरेकाले मनसुनी गतिविधिमा कमी आएको हो।

यद्यपि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम जारी रहेकाले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना भने कायमै रहेको विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहने पूर्वानुमान छ। दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र अन्य पहाडी क्षेत्रका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराईका एक-दुई स्थानमा पनि वर्षा हुन सक्नेछ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा मौसम सामान्यतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
साथै, मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रका नदीहरूमा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो जान सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?