मनसुन थप सक्रिय: देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, भदौ ०७ :
आज दिउँसो देशभरको मौसम सामान्यतया बदली रहने विभागको पूर्वानुमान छ। पहाडी भू-भागका केही र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी, लुम्बिनी प्रदेशको तराई भू-भाग तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।
आज राति मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका साथै देशका अन्य पहाडी भू-भागमा सामान्यतया बदली रही बाँकी स्थानमा आंशिक बदली हुनेछ। यी प्रदेशका केही स्थानमा र देशका बाँकी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै, गण्डकी प्रदेशको पहाडी क्षेत्र र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रमा समेत प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।
