युवा, आजको दिन ‘रेनी डे’ बन्न सक्छ! छाता बोक्न बिर्सनुभयो कि ? कहाँ-कहाँ वर्षा हुँदैछ, तुरुन्तै हेर्नुहोस् !
भाद्र २३ गते (सोमबार)। हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ। यसले गर्दा नेपालभरि मनसुनी गतिविधिको प्रभाव परेको छ।
आज दिउँसो देशको पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीको सम्भावना छ। विशेषगरी देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सडक मार्ग प्रयोग गर्ने र पहाडी क्षेत्रमा यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
आज राती कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ। बाँकी भू-भागमा भने आंशिक बदलीको अवस्था रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी पहाडी तथा तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। यसैगरी, कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका साथै आज राती कोशी प्रदेशका पहाडी र तराई भू-भागका बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। पहाडी क्षेत्रमा भू-क्षय, पहिरो र नदीहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरिन्छ। नदी किनारमा बस्नेहरू र तराईका डुबान हुन सक्ने क्षेत्रका बासिन्दाहरूलाई पनि सतर्कता अपनाउन भनिएको छ।
