आजको मौसम : कोशीदेखि लुम्बिनीसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज भदौ २६ गते बिहीबार देशभर सामान्यतया बदली रहने र विभिन्न प्रदेशहरूमा वर्षाको सम्भावना रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित रहेकाले यसको प्रभावले वर्षाको सम्भावना बढेको हो।
विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
विशेषगरी मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको विभागले उल्लेख गरेको छ। यसले गर्दा ती क्षेत्रहरूमा सामान्य जनजीवन प्रभावित हुन सक्ने र बाढी तथा पहिरोको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।
त्यसैगरी, आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। बाँकी पहाड र तराई भू-भागका थोरै स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।
राति कोशी प्रदेशको पहाडी र तराई क्षेत्र, मधेश प्रदेश, गण्डकी प्रदेशको तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।
मौसमविद्हरूले वर्षाको समयमा यात्रा गर्दा सावधानी अपनाउन र विशेषगरी पहाडी तथा नदी किनारका क्षेत्रमा सतर्क रहन आग्रह गरेका छन्।
