कुट्की: एक बहुमूल्य हिमाली जडीबुटी
कुट्की (Picrorhiza kurroa)
यसको फूल फिक्का निलो-प्याजी रङ्गको हुन्छ र स्वाद निकै तितो हुन्छ। बिरुवा रोपेको ३/४ वर्षपछि यसका जराहरू झिकी पखालेर घाममा सुकाइन्छ र हावा नपस्ने गरी भण्डारण गरिन्छ। परम्परागत आयुर्वेदिक चिकित्सामा यसको धेरै ठूलो महत्त्व छ। यसको ४/५ ग्राम धुलोलाई महमा मिसाएर तातो पानी वा दूधसँग दिनको दुई पटक सेवन गर्नाले हृदय जलन, पाचनसम्बन्धी समस्या, पित्त, उदरशूल, अजीर्ण, कब्जियत, छालाको रोग (विशेषगरी दाद), श्वासप्रश्वासका समस्या, पेटको कीरा, कुष्ठरोग र रक्तविकारजस्ता रोगहरू निको हुनुका साथै शरीरमा नयाँ ऊर्जा पैदा हुन्छ।
विशेषगरी कलेजो सम्बन्धी समस्याहरू जस्तै जण्डिस र फ्याटी लिभरमा समेत यो निकै प्रभावकारी मानिन्छ। साथै, दिसा खलास नभएका खण्डमा सुत्ने बेलामा २/३ ग्राम कुट्कीको चूर्ण महसँग मिलाएर खाँदा फाइदा गर्छ भने सर्प वा बिच्छीले टोकेको ठाउँमा यसको लेप लगाउनाले विषनाशकको रूपमा काम गर्छ।
(जंगली जडीबुटीहरू पहिचान गर्न निकै जटिल हुन सक्ने भएकाले कुनै पनि जडीबुटीको प्रयोग गर्नुअघि त्यसको सही पहिचान गर्न अत्यन्त आवश्यक छ। जडीबुटीको गलत प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने हुँदा, यसको प्रयोग गर्नुपूर्व सम्बन्धित आयुर्वेदिक विशेषज्ञ, अनुभवी वैद्य वा चिकित्सकसँग परामर्श लिई उहाँहरूको सल्लाह र सिफारिस बमोजिम मात्र प्रयोग गर्नुहुन अनुरोध गरिन्छ।)
