रासायनिक उत्पादनको भीडमा हराउँदै गएको रिठ्ठा : आधुनिक प्रशोधन र व्यावसायिक खेतीसँगै फेरि फर्काउन सकिन्छ गाउँघरको यो प्राकृतिक सम्पदा

रिठ्ठा, जसलाई अङ्ग्रेजीमा Soapnut भनिन्छ, नेपालको पहाडी भेगमा पाइने एक बहुउपयोगी तथा प्राकृतिक पतझड वनस्पति हो। यसको वैज्ञानिक नाम Sapindus mukorossi हो। रिठ्ठाको फलमा पाइने ‘स्यापोनिन’ नामक प्राकृतिक रासायनिक तत्वका कारण यसलाई पानीमा भिजाउँदा साबुन वा स्याम्पूले जस्तै फिँज आउने गर्छ। नेपालका मध्यपहाडी भूभाग, विशेषगरी महाभारत पर्वत शृङ्खलाको आसपासका क्षेत्रमा रिठ्ठा बढी मात्रामा पाइने गरेको बताइन्छ। परम्परागत रूपमा नेपाली ग्रामीण समाजमा रिठ्ठालाई अत्यन्तै उपयोगी वनस्पतिका रूपमा लिइन्थ्यो र कतिपय घरपरिवारले आफ्नो करेसाबारी तथा आसपासका क्षेत्रमा यसको रुख रोप्ने र संरक्षण गर्ने गर्थे।

रिठ्ठाको सबैभन्दा महत्वपूर्ण विशेषता यसको प्राकृतिक सफाइ क्षमता हो। यसको फलबाट तयार पारिएको घोलले कपाल सफा गर्न सकिन्छ भने परम्परागत रूपमा कपालको हेरचाह तथा चायाँजस्ता समस्यामा समेत यसको प्रयोग हुँदै आएको छ। त्यस्तै, रिठ्ठाबाट तयार गरिएको प्राकृतिक घोल बहुमूल्य रेशमी कपडा, पश्मिना तथा ऊनीका कपडा सफा गर्नसमेत उपयोगी मानिन्छ। सुनचाँदीका गहना सफा गरी चम्काउन पनि रिठ्ठाको पानी प्रयोग गर्ने परम्परा नेपाली समाजमा पुरानै हो। यसबाहेक परम्परागत तथा आयुर्वेदिक प्रयोगमा रिठ्ठालाई छालासम्बन्धी समस्या, घाउखटिरा तथा केही अवस्थामा प्राकृतिक कीटनाशकका रूपमा समेत प्रयोग गर्ने गरिएको पाइन्छ। यसरी हेर्दा एउटै रुखको फलबाट कपाल धुने सामग्रीदेखि कपडा तथा गहना सफा गर्ने प्राकृतिक साधनसम्म तयार गर्न सकिने भएकाले रिठ्ठा नेपाली समाजको महत्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा रहेको छ।

आधुनिक समयसँगै बजारमा रासायनिक साबुन, सर्फ, स्याम्पू तथा अन्य सफाइका सामग्रीको प्रयोग तीव्र रूपमा बढेपछि रिठ्ठाको परम्परागत प्रयोग भने क्रमशः घट्दै गएको छ। कुनै समय गाउँघरमा दैनिक जीवनको अभिन्न हिस्सा बनेको रिठ्ठा अहिले धेरै ठाउँमा उपेक्षित बन्दै गएको छ। तर, पछिल्लो समय विश्वभर नै प्राकृतिक, जैविक तथा वातावरणमैत्री उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएकाले रिठ्ठाको महत्व पुनः बढ्न सक्ने सम्भावना देखिएको छ। यसको फलमा पाइने प्राकृतिक स्यापोनिनलाई प्रशोधन गरेर प्राकृतिक साबुन, स्याम्पू, कपडा धुने तरल पदार्थ तथा अन्य वातावरणमैत्री सफाइ सामग्री उत्पादन गर्न सकिन्छ। यसले रासायनिक पदार्थमा आधारित उत्पादनको विकल्प खोजिरहेका उपभोक्ताका लागि नयाँ सम्भावना सिर्जना गर्न सक्छ।

रिठ्ठाको महत्व केवल घरेलु प्रयोगमा मात्र सीमित छैन, यसको व्यावसायिक सम्भावना पनि उत्तिकै महत्वपूर्ण छ। नेपालको पहाडी क्षेत्रमा रहेका बाँझो तथा कम उपयोग भएका जमिनमा रिठ्ठाको व्यावसायिक खेती विस्तार गर्न सकिने सम्भावना छ। सल्यान, उदयपुरलगायतका जिल्लामा किसानहरू रिठ्ठाको व्यावसायिक उत्पादनतर्फ आकर्षित हुन थालेका छन्। यदि स्थानीयस्तरमा यसको खेती विस्तारसँगै फल संकलन, प्रशोधन, प्याकेजिङ र बजार व्यवस्थापनमा ध्यान दिन सकियो भने रिठ्ठाले ग्रामीण क्षेत्रमा नयाँ रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न सक्छ। अझ यसको प्रशोधन गरी मूल्य अभिवृद्धि गरिएका उत्पादन तयार पार्न सकेमा स्वदेशी बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत निर्यातको सम्भावना बढाउन सकिन्छ।

त्यसैले, आधुनिक रासायनिक उत्पादनको बढ्दो प्रयोगका कारण ओझेलमा परेको रिठ्ठालाई अब परम्परागत प्रयोगमा मात्र सीमित नराखी आधुनिक प्रविधिसँग जोडेर व्यावसायिक रूपमा अगाडि बढाउन आवश्यक देखिन्छ। पहाडी तथा बाँझो जमिनको सदुपयोग गर्दै रिठ्ठाको खेती विस्तार गर्ने, यसको वैज्ञानिक रूपमा प्रशोधन गर्ने र प्राकृतिक सफाइका सामग्री उत्पादन गरी बजारमा पुर्‍याउने हो भने यसले एकातिर वातावरणमैत्री जीवनशैलीलाई प्रवर्द्धन गर्न सहयोग पुर्‍याउन सक्छ भने अर्कोतिर किसानको आम्दानी बढाउने दिगो माध्यमसमेत बन्न सक्छ। नेपालको आफ्नै रैथाने प्राकृतिक सम्पदाका रूपमा रहेको रिठ्ठालाई संरक्षण, प्रवर्द्धन र व्यावसायीकरण गर्न सकेमा यो गाउँघरको पुरानो प्राकृतिक साबुनबाट आधुनिक समयको हरित तथा निर्यातमुखी उद्योगको आधार बन्न सक्ने सम्भावना बोकेको महत्वपूर्ण वनस्पति हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments