अनुदानको मलमा कालोबजारी

सरकारले दिएको अनुदानको रासायनिक (युरिया) मलमा कालोबजारी भएको छ । बर्दिया बढैयाताल गाउँपालिका मैनापोखरमा रहेको मैनापोखर साझा सहकारी संस्था लिमिटेडले मलमा कालोबजारी गरेको पाइएको हो ।

जिल्ला प्रशासन कार्यालयले कालोबजारीको आरोपमा साझा सहकारी संस्था लिमिटेडको बिक्री कक्ष र कार्यालय सिल गरेको छ । सहकारी संस्थामा कार्यरत कर्मचारीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिई छोडिएको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङका अनुसार आवश्यक अनुसन्धानपछि कालाबजारी ऐनअन्तर्गत मुद्दा चलाइनेछ ।

सरकारको ६५ प्रतिशत अनुदानमा बिक्री वितरण गर्दै आएको रासायनिक मल कृषि सामग्री केन्द्र लिमिटेडले सहकारीमार्फत बिक्री वितरण गर्ने गरेको छ । कृषि सामग्री केन्द्र लिमिटेड शाखा कार्यालय गुलरियाले आठ सय रुपैयाँ प्रतिबोरा बिक्री गरिएको मल सहकारी संस्थाहरूले ढुवानी भाडा र केही मुनाफा राखी कृषकहरूलाई बिक्री वितरण गर्नुपर्ने प्रावधान छ । कृषि सामग्री केन्द्र लिमिटेड प्रशाखा कार्यालयदेखि करिब १५ किलोमिटर रहेको मैनापोखरमै साझा सहकारी संस्था लिमिटेडले प्रतिबोरा एक सय ९९ रूपैयाँ बढीमा युरिया मल बिक्री गरिरहेको छ ।

केही दिन अगाडिसम्म नौ सय रुपैयाँ प्रतिबोरा पाउने गरेको युरिया मल एक्कासि एक सय बढाई एक हजारमा बिक्री गरेपछि कृषकहरू अचम्म परेका थिए । कृषकहरूले मल महँगो भएको विरोध गर्दासमेत अटेर गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फोनबाट जानकारी गराएका थिए । अख्तियारले तत्काल जिल्ला प्रशासन कार्यालयलाई खबर गरेपछि प्रशासनले छापा मारेको थियो । प्रशासनले छापा मार्दा उजुरीअनुसार बढी मूल्यमा मल बिक्री गरेको पाइएपछि सहकारीको बिक्री कक्ष र कार्यालयमा सिल गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

यता, मैनापोखर साझा सहकारी संस्थाका अध्यक्ष हिमालय त्रिपाठीले पटक–पटक मल लिन पठाउँदा गाडी रित्तो फर्कने, मल नपाउने र वर्षात्को समयमा लेबर चार्ज बढी पर्ने हुँदा लागत मूल्य बढी पर्न गई मूल्य बढाएको बताए । संस्थाको ११ भदौमा बसेको बैठकको निर्णयअनुसार मूल्य बढाएको उनको भनाइ छ ।

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments