बैतडीका ३० भन्दा बढी बस्ती पहिराको उच्च जोखिममा

पर्वतमा पहिराले पुरिएर पाँचको मृत्यु, तीन बेपत्ता

बैतडी: बैतडीमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । यी दुवै योजना जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट पारित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

दुवै योजनामा विपद्का घटना न्यूनीकरणका लागि आवश्यक तयारीका कुरा समेटिएका छन् । प्रत्येक क्षेत्रका योजना समावेश गरिएका र जिल्लामा हुनसक्ने विपद्का घटनाको क्षति न्यूनीकरणका लागि कसले के गर्ने भन्ने विषय योजनामा समेटिएको छ । योजनामा पूर्वतयारी र प्रतिकार्यका कुरा समेटिएका छन् । विपद्बाट हुने क्षति न्यूनीकरणका लागि जिल्लामा यिनै योजनाअनुसार काम हुने सूचना अधिकारी भारतीले बताए।

जिल्ला विपद् व्यवस्थापन समितिले पारित गरेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ मा जिल्लाका ३० भन्दा बढी बस्ती पहिराको उच्च जोखिममा रहेको जनाइएको छ । दोगडाकेदार गाउँपालिका–६ को सित्तड, पञ्ज्युनयाँ, वडा नं ८ को कालागाउँ, वडा नं ३ कुकुडेपानी र श्रीकोटमा पहिराको उच्च जोखिम छ । यस्तै मेलौली नगरपालिकाको वडा नं १ जर्कुधार, नागनी, सिराडसेला, वडा नं ३ को कुचगाड, गगनरोडा, पोखरी, वडा नं ७ को तोल्या, वडा नं ८ को ल्वास, गैरी, मटुवा, खोली, वडा नं ९ को काँकडी, कोल्तडी, असुर र कमेट्ठामा पनि पहिराको जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

यस्तै डिलाशैनी गाउँपालिकाको वडा नं ६ को बाङ्गाबगर, सौनागाउँ, वडा नं ३ को रुद्रेश्वरमा पहिराको जोखिम रहेको योजनामा उल्लेख गरिएको छ । सुर्नया गाउँपालिकाको वडा नं ८ ढोल्या, वडा नं ३ भौनेली, पाटन नगरपालिकाको वडा नं ८ सिद्धेश्वर पनि पहिराको उच्च जोखिममा रहेको जनाइएको छ । यसैगरी सिगास गाउँपालिकाको ढुङ्गाड, पञ्चेश्वर गाउँपालिकाको वडा नं २ को गनकट्टे, चनतडा, बसेक, सन्तुला, डिम्बर र वडा नं ६ को रोडीदेवल बस्ती पहिराको उच्च जोखिममा रहेको छ । त्यस्तै पुर्चौंडी नगरपालिका–८ मल्लादेही पनि पहिराको जोखिममा रहेको जनाइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले पहिराको उच्च जोखिम भएका स्थानको पहिचान गरी क्षति न्यूनीकरणका लागि पूर्वतयारी समेत गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भारतीले जानकारी दिए। पहिराको उच्च जोखिम भएका क्षेत्रको पहिचान गरेर पूर्वतयारी गरिएको र पहिरो, बाढीबाट क्षति नहोस् भनेर स्थानीय तहहरूलाई पनि तयारीमा रहन भनिएको छ ।

पहिराको उच्च जोखिम रहेका स्थानीय तहहरूलाई आ–आफ्नो क्षेत्रमा पूर्वतयारी अवस्थामा रहन आग्रह गरिएको सूचना अधिकारी भारतीले जानकारी दिए । बैतडीका कतिपय स्थानीय तहले अझै पनि विपद् व्यवस्थापन योजना बनाएका छैनन् । स्थानीय तहमा जनप्रतिनिधि आएको चार वर्ष पूरा भइसक्दासमेत योजना बनाउन नसकेका हुन् । नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको विपद् व्यवस्थापन योजना नहुँदा विपद्बाट प्रभावित नागरिकले राहत तथा क्षतिपूर्ति पाउन समस्या हुने गरेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ ले प्रत्येक स्थानीय तहमा विपद् व्यवस्थापन योजना बनाउनुपर्ने उल्लेख गरेको भए पनि बैतडीका केही स्थानीय तहले अझै योजना बनाएका छैनन् । योजना बनाएका स्थानीय तहले पनि योजना अद्यावधिक नगरेको पाइएको छ । स्थानीय तहमा विपद् व्यवस्थापन योजना नहुँदा हरेक वर्ष समस्या हुने गरेकाले यो कामलाई स्थानीय तहले प्राथमिकतामा राख्नुपर्ने नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम अधिकृत तेजप्रसाद पाण्डेले बताए ।

यसैबीच विपद्को बेला राहत तथा उद्धारका लागि पनि जनशक्ति तयारी अवस्थामा रहेको जनाइएको छ । विपद्का बेला उद्धारका लागि बैतडीमा ५०२ सुरक्षाकर्मी तयारी अवस्थामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ५०२ जना तयारी अवस्थामा रहेका हुन् ।

यस्तै विपद्का बेला आवश्यक पर्ने उद्धारका सामग्रीको विवरण पनि सार्वजनिक गरिएको छ । डोजर तथा एक्साभेटर, ट्र्याक्टर, आश्रयस्थल, तारजाली, ट्युब, वाटर ट्याङ्कर, रबरबोटलगायतका ५२ किसिमका सामाग्री तयारी अवस्थामा रहेको पनि विपद् व्यस्थापन समितिले जनाएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?