भन्सार छलेर ल्याउँदै गरेको ठूलो परिमाणको चिनीसहितको मिनी ट्रक बरामद

चिनी बरामद

कञ्चनपुर: वेदकोट नगरपालिका–१० दैजी बेलडाँडी सडकखण्डबाट प्रहरीले बिहीबार साँझ अवैधरूपमा मिनी ट्रकमा ल्याउँदै गरेको ठूलो परिमाणको चिनी बरामद गरेको छ ।

चोरी पैठारी गरी ट्रकमा चिनी ओसारपसार भइरहेको सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीको संयुक्त टोलीले चिनीसहितको ट्रक बरामद गरेको हो ।

सुपप्र०१००१क १९०१ नंको ट्रकमा अवैधरूपमा ल्याइएको ९८ बोरा चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए। उनका अनुसार बरामद चिनीको मूल्य रु तीन लाख १८ हजार ५०० र नियन्त्रणमा लिइएको टाटा मिनी ट्रकको मूल्य रु छ लाख ८१ हजार गरी जम्मा रु नौ लाख ९९ हजार ५०० रहेको छ ।

चिनीसहितको मिनी ट्रक र चालक भरत विष्टलाई कानूनबमोजिम आवश्यक कारवाहीका लागि गड्डाचौकी चौकी भन्सार कार्यालयमा बुझाइएको छ। यसैबीच, प्रहरीले आज भीमदत्त नगरपालिका–१ भासीस्थित बिक्की गुप्ताले भारतबाट भन्सार छलेर ल्याएको ४२ क्विन्टल चिनीसमेत बरामद गरेको छ ।

गुप्ताको गोदाममा छापा मारी प्रहरीले रु दुई लाख ७३ हजार मूल्य बराबरको चिनी बरामद गरेको हो। बरामद चिनीसहित गुप्तालाई नियन्त्रणमा लिई भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?