महिलाको कार्यबोझ घटाउन कृषिमा यान्त्रिकरण:१५ लाखका स्मार्ट सामग्री वितरण

महिलाको कार्यबोझ घटाउन कृषिमा यान्त्रिकरण

जुम्ला : जुम्ली महिलाको अधिकांश समय घरधन्दा मेलापात गरेरै बित्छ । तुलनात्मक रुपमा पुरुषभन्दा महिला नै घरको काम बढी गर्छन् । बालीनाली रोप्ने,अन्न भित्राउने, भण्डारण गर्नेदेखि हरेक महिलाकै काँधमा हुन्छ । परम्परागत खेती प्रणालीले एकातर्फ समय बढी खर्चिने र अर्काेतर्फ महिलालाई कार्यबोझ बढ्ने समस्या थियो । साथै अधिकांश पुरुष कमाउन कालापहाड जाने घरधन्दा खेतीपाती महिलाकै भरमा छोड्छन् । महिलाले भनेकै समयमा हली गोरू पाउनै मुस्किल हुन्छ जसका कारण कृषिमा यान्त्रीकरण अत्यावश्यक छ ।

कार्यबोझकै कारण जुम्लामा अधिकांश महिला गर्भ तुहिने, कुपोषण हुने, रक्तअल्पता, पाठेघर खस्नेजस्ता समस्याबाट पनि ग्रसित छन् । जुम्लाको मुख्य पेशा भनेकै कृषि र कृषिमा संग्लन बढी महिला हुने भएकै कारण अन्नबाली रोपेदेखि भित्र्याउने, चुट्ने कुट्नेसम्म पनि महिलाकै जिम्मेवारी हुन्छ । कार्यबोझको समस्याबाट सहरका भन्दा ग्रामीण महिला बढी पीडित छन् । ग्रामीण महिलाको कार्यबोझ न्यूनीकरण,उत्पादन पनि वृद्धि, समयको सदुपयोग र छिटो छरितो कामका लागि किर्डाक नेपालले जुम्लाका ५ स्थानीय तहका किसानलाई स्मार्ट कृषि सामग्री वितरण गरेको छ ।

यहाँका चन्दननाथ नगरपालिकासहित तातोपानी, तिला, गुठिचौर पातारासी गाउँपालिका गरी पाँच स्थानीय तहका करिब १४ समूहलाई मिनिटिलर (हातेट्याक्टर) र धान, जौ, गहुँ चुट्ने थ्रेसर मेसिन दिइएको किर्डाक नेपाल जुम्लाका फिल्ड कार्यक्रम अधिकृत भेषबहादुर रावले बताए । उनका अनुसार स्मार्ट कृषि सामग्रीले ग्रामीण महिलाको कार्यबोझ घट्ने, सहज रूपमा खेतीपाती गर्न सकिने र समयको सदुपयोगसँंगै उत्पादन वृद्धि हुने आशा गरिएको छ ।

हाते ट्याक्टर बुझ्दै तातोपानी–२ कि महिला किसान सीता चनाराले भनिन्, “गोरु जोतेरै खेती गर्दा एक दिनमा हुने काम २÷३ दिन लाग्ने । आफ्ना गोरू नहुँदा समयमै नपाउने चिन्ता उत्तिकै हुन्थ्यो भने, बाली भित्र्याउँदा हातले चुट्नु पर्ने हुँदा हातमा निलडामसमेत पर्थे । तर अहिले हाते ट्याक्टर, थ्रेसर मेसिन पाउँदा खुसी लाग्यो ।”

घरायासी काममा सधै महिला पिल्सिनु पर्ने र सबै काममा आफै जोतिँदा हुने कष्ट पीडा शब्दमा बयान गर्न नसकिने उनको दुःखेसो छ । उनले थपिन्, “कृषि नगरौं मुख्य पेसा त्यही हो । गरौं भने परम्परागत खेती प्रणाली निकै झन्झटिलो खर्चिलो, समय धेरै लाग्ने र महिलालाई धेरै दुःख हुन्छ । त्यसैले महिलाको कार्यबोझ घटाउनुका साथै उत्पादन वृद्धि, समयको सदुपयोगका लागि कृषिमा यान्त्रीकरणको विकास आवश्यक देखिन्छ ।”

साथै पछिल्लो पुस्तालाई कृषिमा आकर्षित गर्नका लागि पनि यान्त्रीकरण अत्यावश्यक रहेको जुम्लाका वरिष्ठ किसान रामकृष्ण बुढ्थापा बताउँछन् । उनी भन्छन्, “वर्तमान शिक्षा र संस्कार पढ्ने बित्तिकै सक्भर डाक्टर, पाइलट इन्जिनियर बन्ने त्यो नभए खाडीमा जाने बरु आफ्नै ठाउँमा कृषि गर्नुपर्छ भन्ने मानसिकता छैन भने पछिल्लो पुस्ताले हलो जोतेर कृषि कर्म गर्छन भन्नेमा विश्वास पनि छैन । त्यसैले युवा पुस्तालाई कृषिमा आकर्षण गर्नका लागि पनि यान्त्रीकरणको विकास जरुरी छ ।”

१५ लाखका स्मार्ट सामग्री वितरण
जुम्लाका पाँच स्थानीय तहमा करिब १५ लाख बराबरका स्मार्ट कृषि सामग्री वितरण गरिएको छ । महिलाको कार्यबोझ घटाउने, उत्पादन वृद्धि गर्ने सोचले किर्डाक नेपालले यहाँको तिला गाउँपालिकामा चारवटा थ्रेसिङ मेसिन र सातवटा मिनिटिलर, तातोपानीमा दुईवटा थ्रेसिङ मेसिन र तीनवटा मिनिटिलर वितरण गरिएको छ ।

त्यस्तै चन्दननाथमा दुईवटा मिनिटिलर, पातारासी र गुठिचौर गाउँपालिकामा १÷१ मिनिटिलर वितरण गरिएको किर्डाक नेपाल जुम्लाका फिल्ड कार्यक्रम प्रबन्धक भेषबहादुर रावलले बताए । उनका अनुसार पाँच स्थानीय तहका १४ वटा सक्रिय कृषि शाखामा दर्ता भएका कृषि समूहलाई पूर्ण अनुदानमा करिब १५ लाखका स्मार्ट कृषि सामग्री दिइएको हो ।

प्रतिमिनिटिलर मूल्य ६९ हजार र प्रतिथ्रेसिङ मेसिन ७५ हजार मूल्य रहेको छ । पाँच स्थानीय तहमा गरी ६ थ्रेसिङ मेसिन र १४ वटा मिनिटिलर गरी १५ लाखका सामग्री वितरण गरिएको छ ।

समूहमा वितरण गरेका सामग्रीबाट गाउँका अन्य सबै किसान लाभान्वित हुने भएका छन् भने मेसिन मर्मतका लागि मेसिन प्रयोग गरेवापत केही शुल्क निर्धारण गरिनुका साथै मेसिन चलाउने एक व्यक्तिसमेत तोकिने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?