साउदी अरबबाट नेपाल फर्केसँगै टर्कीपालन व्यवसाय सुरु: मासिक डेढ लाख आम्दानी

गोरखा: गोरखाको पालुङटारमा टर्कीपालन गरेर एक युवाले मनग्य आम्दानी गरेका छन्। विगत १३ वर्ष साउदी अरबको अल्मराई कम्पनीमा काम गरेका पालुङटार नगरपालिका–४ का ४० वर्षीय जीवमनि लुइँटेलले विसं २०७६ मा नेपाल फर्केसँगै टर्कीपालन सुरुआत गरेका हुन् ।

सो कम्पनीमा नौ हजार ५०० रियल अर्थात् नेपाली झण्डै रु तीन लाख मासिक कमाई गर्दै आएका उनले विसं २०७७ वैशाखदेखि पालुङटारस्थित आफ्नै घरमा आएर टर्कीपालन व्यवसाय सुरु गरेका हुन्। “मैले अल्मराई कम्पनीमा सँगै कार्यरत साथी मिठु सार्कीलाई भैरहवामा भेट्न जाँदा सार्कीको घरनजिक टर्कीपालन गरेको देखेँ, त्यहाँ टर्कीपालन गरेको देखेर मैले पनि केही गर्नुपर्छ भनेर त्यहाँको अनुभवलाई पालुङटारमा ल्याएर प्रयोग गरेँ”, उनले भने ।

सुरुआती चरणमा रु ७० लाख लगानी गरेर टर्कीपालन सुरु गरेका लुइँटेलले अहिले मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आएका छन्। उनले एकपटकमा एक हजार टर्कीपालन गर्नसक्ने गरी खोर निर्माण गरेका छन् । केही समय पहिले ९०० टर्कीपालन गरेका लुइँटेलसँग हाल ३०० टर्की रहेका छन् ।

लुइँटेलले पालन गरेको टर्की बिक्रीका लागि मुख्य बजार भने काठमाडौँ हो। यसका अलावा चितवन, पोखरा र स्थानीय पालुङटारमा पनि टर्कीको मासु खपत हुँदै आएको छ। “हप्तामा ५० किलो काठमाडौँ, २० किलो पोखरा र २५ किलो चितवनको नारायणगढ बजारमा टर्की बिक्री हुँदै आएको छ”, उनले भने ।

डेढ वर्षदेखि टर्कीपालन गर्दै आएका उनले एउटा टर्की १५ किलोसम्म बनाएका छन्। उनले टर्कीको मासु एक किलोको रु एक हजारमा बिक्री वितरण गर्दै आएको बताए। टर्कीपालनका सिलसिलामा लुइँटेलले तीन जनालाई रोजगारीसमेत प्रदान गरेका छन् ।

टर्कीका लागि मुख्य आहार भनेको दाना नै हो। श्रीमती ज्ञानु लुइँटेललाई समेत शिक्षकको जागिरबाट अलग गरी व्यवसायमा लगाएका जीवमनिले हाल आफैँ गाडी किनेर टर्कीको मासु काठमाडौँ, पोखरा, नारायणगढसम्म पुर्याउँदै आएका छन्। “परिवारसँगै घरमा बसेर आफ्नै जन्मथलोमा पौरख गरेर यती कमाएकामा मलाई पूर्णरूपमा आत्मासन्तुष्टि मिलेको छ”, उनले भने ।

टर्कीपालनबाटै उनले दुई छोराछोरीलाई उच्च माध्यामिक तहसम्मको शिक्षा प्रदान गराएका छन् । उनका छोराछोरीमध्ये हाल एक छोरी अमरज्योति जनता माध्यामिक विद्यालय लुइँटेलमा कक्षा १२ मा विज्ञान विषय लिएर अध्ययनरत हुनुहुन्छ भने अर्की छोरी गोरखा पोलिटेक्निकलमा प्राविधिक शिक्षा अध्ययनरत छन्। आगामी दिनमा उनले आफ्नो व्यवसायलाई झन् राम्रो बनाउँदै लैजाने जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?