कृषक मर्कामा : पहाडी गाउँमा उत्पादन भएका सुन्तलाले बजार पाएन

नवलपुर: सहजरुपमा यातायातको पहुँच नपुग्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पहाडी गाउँमा उत्पादन भएका सुन्तलाले बजार पाउन सकेको छैन । उत्पादित सुन्तला बजारसम्म पुर्याउन नसक्दा कृषकले आर्थिक क्षति बेहोर्न बाध्य छन् ।

जिल्लाको पहाडी गाउँपालिका बौदीकाली सुन्तलाको पकेट क्षेत्रका रुपमा छ । सडक सञ्जाल अभावकै कारण बौदीकाली–५ को बबक गाउँमा उत्पादन भएको सुन्तला बजार क्षेत्रसम्म पुर्याउन नसक्दा कृषकलाई आर्थिक क्षति पुगेको हो । उक्त गाउँमा उत्पादन भएको कम्तीमा पनि ३० क्विन्टल सुन्तला कुहिने अवस्थामा पुगेको कृषकको गुनासो छ ।

सुगम जिल्लाका रुपमा रहेको सो भेगमा अझै सहज तरिकाले यातायाता पुग्न नसक्दा कृषक मर्कामा परेका हुन् । बबकका ६२ परिवारले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । सुन्तला उत्पादन राम्रो भएको भए पनि यस वर्ष कृषकले समयमा बजार पुर्याउन नसक्दा उत्पादन भएका आधा सुन्तला खाडलमा पुरेको कृषकहरुले गुनासो गरेका छन् ।

बौदीकाली–५ का वडाध्यक्ष खिमबहादुर थापा खरुमगरले जिल्लाको मागभन्दा बढी सुन्तला उत्पादन हुने भए पनि यातायात असुविधाका कारण सुन्तला कुहिएर नष्ट हुने गरेको जानकारी दिए । “स्थानीयस्तरमा उत्पादन भएका सुन्तला कृषकहरुले आधाभन्दा बढी त डोकोमा बोकेर बजारसम्म पुर्याएर बेच्ने गरेका छन्,” खरुमगरले भने, “यातायात सहज भएको भए सबै सुन्तला बिक्री हुने थियो, तर यातायातको पहुँच नहुँदा उत्पादित सुन्तला बोटमै कुहिने अवस्था छ ।” किसानले मिहिनेत गरेर उत्पादन गर्ने सुन्तलाले बजार नपाउँदा उनीहरुमा आर्थिकसँगै मानसिक असरसमेत गर्ने गरेको वडाध्यक्ष खरुमगरले बताए।

कृषकहरुले बोकेर नै सुन्तला बजार पुयाउने गरेको भए पनि बजारमा व्यापारीले उचित खरिद मूल्य नदिँदा थप मर्का परेको उनको भनाइ छ । “बाटोको कारण उत्पादित सुन्तला बजारसम्म पुयाउन समस्या छ,” वडाध्यक्ष खरुमगरले भने, “बोकेरै बजार पुर्याएको सुन्तलाको पनि व्यापारीले उचित मूल्य दिँदैनन् भन्ने किसानहरुको गुनासो छ ।” बजार मूल्यभन्दा निकै कममा व्यापारीलाई सुन्तला बिक्री गरेर कृषकहरु फर्किनुपर्ने बाध्यता रहेको उनले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?