अनुदान लिन किसानको भीड

पर्वत — फलेवास ४ मुडिकुवाका चन्द्रकला पौडेल र गौरी पौडेललगायतका किसानले सिँचाइ कुलो मर्मतका लागि प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको स्थानीय कार्यालयमा निवेदन दिए ।

उनीहरूसँगै सातबीसे कृषक समूहका वेदप्रसाद पौडेल र विष्णु पौडेललगायत करिब ५० भन्दा बढी किसान मकै जोन कार्यान्वयन इकाइ कार्यालयमा कस्टम हायरिङ, साना मेसिनरी औजार र प्रतिफलमा आधारित किसानको बिहीबार दिनभर भीड लाग्यो ।

तीन वर्षअघि साबिकका थापाठाना, शंकरपोखरी, मुडिकुवा, खानीगाउँ, लिमिठाना र ठानामौलालाई समेटेर लागू भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई अनुदानमुखी बनाएको छ । किसानहरू ५० प्रतिशतदेखि सित्तैमा पाइने उपकरण र सिँचाइको योजना माग्न कार्यालयमा दैनिकजसो भीड लाग्ने गरेको छ । परियोजना इकाइ कार्यालयले एक महिने सूचना सार्वजनिक गरी किसानलाई अनुदानका शीर्षक सार्वजनिक गरेपछि कार्यालयमा विभिन्न समूहमा आबद्ध किसानको भीड लागेको हो ।

कार्यालयका निमित्त वरिष्ठ कृषि अधिकृत हेम शर्मा तिवारीका अनुसार किसानले पछिल्लो समय मेसिनरी औजारको बढी माग गर्ने गर्छन् । ‘धेरैजसो निवेदन कष्टम हायरतर्फका छन्,’ उनले भने, ‘पहिले घरेलु औजारको माग बढी हुन्थ्यो । अहिले मेसिनमा आकर्षण बढेको छ ।’ परियोजना कार्यालयले आहवान गरेको सूचनाबमोजिम साना सिँचाइ, कस्टम हायर र प्रतिफलमा आधारित अनुदानलगायतमा करिब दुई सयभन्दा बढी किसानको आवेदन परेको कार्यालयले जनाएको छ ।

किसान समूह, सहकारी तथा व्यावसायिक किसान लक्षित अनुदानका कार्यक्रमले किसानलाई उत्साहसँगै उत्पादन समेत बढेको छ । ‘अघिल्लो वर्ष मिनि टेलर गाउँमा गएपछि धेरैका बाँझा जमिन हराभरा भए,’ राङथास देउराली किसान समूहका सदस्य दयाराम रिजालले भने, ‘मेसिनले काम गर्दा दु:ख र पैसाको बचत हुँदोरहेछ ।’ किसानले व्यावसायिक खेती गरेर लाखौं आम्दानी गरेपनि अनुदानमा पाएका सामग्रीले हौसला बढ्ने बताउँछन् ।

‘व्यवसाय नै कृषि भएपछि आफूलाई चाहिने सामान किन्न नसकेर होइन,’ फलेवास ४ का छबिलाल तिवारीले भने, ‘अनुदानमा दिएका उपकरण पुरस्कारजस्तो लाग्छ । काम गर्ने जाँगर बढेर जान्छ ।’ मकै जोनले समेटेका साबिकका ६ गाविसलाई लक्षित गरी जोन कार्यालयले विभिन्न शीर्षकमा ४९ लाख रुपैयाँ बराबरका कार्यक्रम तथा मेसिन वितरण गर्न लागेको हो ।

निमित्त प्रमुख तिवारीका अनुसार साना सिँचाइका लागि २२ लाख, मकैको प्रतिफलमा आधारित अनुदानका लागि १० लाख, साना मेसिनरी औजारमा ७ लाख र कस्टम हायरिङ सेन्टरमा १० लाख बराबरको अनुदान वितरण गर्ने कार्यक्रम छ ।

परियोजनाले मकै खेतीलाई आधुनिकीकरण गर्ने लक्ष्य लिएको जनाएको छ । ‘मुख्य फोकस मकैलाई हुन्छ,’ कार्यालयका नायब सुब्बा दुर्गाप्रसाद आचार्यले भने, ‘अनुदान लिएका सबैले मकै मात्रै लगाउँछन् भन्ने हुँदैन ।’ मकै जोनमा समेटिएका वडामा किसान समूह, सहकारी, व्यक्तिगत फर्म लगायतको आकर्षण बढेको छ ।

परियोजना ३ वर्षअघि सुरु भएको हो । आधुनिक प्रविधिको उच्चतम उपयोग गरी मकै खेतीलाई विस्तार गर्न परियोजना कार्यान्वयन इकाइले बर्सेनि अनुदान वितरण गर्दैआएको छ । जसअन्तर्गत पावर ट्रिलर, मिनि पावर ट्रिलर, मकै रोप्ने, गोड्ने र छोडाउने मेसिन, मेटलबिन, साना सिँचाइ, कृषि उपकरण, विद्युतीय मिललगायतका उपकरण ५० देखि शतप्रतिशत अनुदानमा वितरण गर्दै आएको छ ।

अनुदान वितरणपछि गाउँमा बाँझिएको खेतबारी खनजोत गरी खेती उत्पादन बढेको प्राविधिकहरूको दाबी छ । तर, केही पहुँचवालाहरूले भने अनुदानको रकम र उपकरणहरू दुरुपयोग गर्नेगरेका गुनासासमेत कार्यालयमा आउनेगरेका छन् ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments