धानबालीमा छडे किरा

बर्दिया — जिल्लाको बारबर्दिया र गुलरिया नगरपालिकामा लगाइएको धानबालीमा छडे किराको प्रकोप बढेको छ ।

दुई सातायता फैलिएको प्रकोपले यहाँको २ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुर्‍याएको कृषि प्राविधिकहरूले बताए ।

बारबर्दियाको दक्षिण बबई नदी तटीय क्षेत्र नजिक रहेको धानबालीमा छडे अर्थात् हुपर किराको प्रकोप बढेको हो ।

स्थानीय किसानले यसलाई खैरो रोग पनि भन्ने गरेका छन् । गुलरिया नगरपालिकाका १०, ११ र १२ वडामा किराले धानमा नोक्सान पुर्‍याएको कृषि प्राविधिक बताउँछन् । गत वर्ष बाढी पसेको बर्दियाका दुई नगरपालिकाका बबई तटिय क्षेत्र नजिक लगाइएको धानबालीमा रोग फैलिएको छ ।

धानबालीमा लागेको छडे किरा रोगका कारण यहाँका किसान निकै तनावमा छन् । रोग व्यापक फैलिएपछि कृषि प्राविधिक टोली अनुगमनमा पुगेको कृषि प्राविधक सहायक कमल तामाङले बताए । ‘रोग चाँडै नियन्त्रणमा आउन पानी पर्नु जरुरीे छ,’ उनले भने, ‘लामो समयदेखि पानी नपरेका कारण किराको प्रकोप फैलिएको हो ।

कृषि प्राविधिकको सल्लाहमा इमिडाक्लो प्रिड नाम गरेको विषादी धानबालीमा छर्न लागिएको गुलरिया १० का लक्ष्मण लोधले बताए ।

हालसम्म रोग नियन्त्रणमा नआएको गुलरिया १० का किसान सुकदेव थारूले बताए । धानमा लागेको किरा नियन्त्रण गर्न गुलरिया नगरपालिकाबाट खासै पहल नभएको स्थानीय किसानले गुनासो पोखेका छन् । धानबालीमा रोग लागेपछि बारबर्दिया नगरपालिकाले किसानलाई विषादी नि:शुल्क उपलब्ध गराएको मेयर दुर्गाबहादुर थारुले बताए ।

किरा नियन्त्रणमा आएन भने जिल्लामा धानबालीको उत्पादन घट्ने कृषि प्राविधिकले बताए । जिल्लामा ५० हजार हेक्टरमा धान खेती हुने गर्छ । गत वर्ष जिल्लामा २ लाख ३ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

www.kantipurdaily.com

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments