पर्यटकलाई आकर्षित गराउँदै दगामका ‘होमस्टे’

गण्डकी: उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका हिमाल । अन्नपूर्ण, धवलागिरि, मनास्लुसहित माछापुच्छ्रेलगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिन्छ । दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यहरू समेतलाई एकसाथ अवलोकन गर्न सकिनु तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं २ दगाम गाउँको परिचय हो ।

प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहारले दगाम गाउँको अर्को परिचय दिँदै आएको छ । सरल, निश्चल र सहयोगी गाउँलेहरूमा ‘अतिथि देवो भवः’ भावना प्रष्ट झल्किन्छ । गाउँलेको निश्चल हाँसो, बोली र व्यवहारले टुटेपानी गाउँ पुग्ने जो–कोहीलाई लठ्ठ बनाउने गरेको छ ।

दगाममा मगर र भुजिकोटमा गुरुङ जातिको बाहुल्यता छ । तेइस घरमध्ये २० घर मगर र तीन घर गुरुङ बस्छन् । यहाँबाट हिमाल, डाँडासँगै शुक्लागण्डकी क्षेत्रको अतिरिक्त पोखरा फेवातालसम्मको दृश्यले यहाँ आउने जो–कोही लोभिने गरेका छन् ।

प्रकृति, संस्कृति र आत्मियतासँग रमाउन आन्तरिक पर्यटक पुग्न थालेपछि पछिल्ला वर्षमा आफूहरूले घरबास (होमस्टे) सञ्चालन गरेको दगाम सामुदायिक होमस्टेका संयोजक नन्दराम थापाले जानकारी दिनुभयो ।

आफूहरूले घरबासलाई दगाम सामुदायिक होमस्टे नामाकरण गरेको जनाउँदै उहाँले विसं २०६५ स्याङ्जाको शिरुबारी गाउँ अवलोकनपछि दगाममा घरबास कार्यक्रम सुरुआत गरेको अनुभव सुनाउनुभयो ।

“होमस्टे चलाउने भनेर विसं २०६३ देखि नै हामीले योजना बनाएका हौँ”, उहाँले थप्नुभयो, “शिरुबारी गएर सिकेपछि झनै सजिलो भयो अनि गाउँले मिलेर नै खोलियो ।” घरबास सञ्चालनमा आएसँगै पाहुनाहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफूहरू उत्साहित बनेको उहाँको भनाइ छ ।

कोदो, मकैको परिकारसँगै लोकल कुखुराको मासु होमस्टेका पाहुनाको मुख्य रोजाइमा पर्ने गरेको दगाम सामुदायिक होमस्टेका अध्यक्ष तिला थापाले जानकारी दिनुभयो । “पाहुनालाई हामी भटमास, मस्याङ, गुन्द्रुक, ढिँडो, मह, सिम्लेलगायतका स्थानीय परिकार नै खुवाउने गर्छौैँ”, उहाँले भन्नुभयो, “स्थानीय उत्पादन नै दगाम सामुदायिक होमस्टेको पहिचान हो भन्दा पनि हुन्छ ।”

घरबासका लागि एक हजार चार सय रुपैयाँको प्याकेज उपलब्ध छ । यसमा दिउँसो र बिहानको खाजा, बिहान बेलुकाको खाना, मनोरञ्जन र आवासको सुविधा पाइने अध्यक्ष थापाले जानकारी दिनुभयो । दगाममा प्रत्येक दिन ४० जना पाहुना राख्न सक्ने क्षमता छ ।

दगाम गाउँको प्रत्येक घरमा मौरीका घार यहाँको अर्को विशिष्टता हो । त्यसैकारण पनि यहाँको अर्को आकर्षण मौरी र मह बन्न पुगेको छ । दगाम पुग्नेले त्यहाँको अग्र्यानिक महको स्वाद लिन पाउँछन् । दगामको मह र मौरी देशका विभिन्न ठाउँमा पुगेको छ भने, मह विदेशसम्मै पुग्छ । पाहुना फर्किँदा स्थानीय मह कोसेलीका रूपमा लैजाने गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

मगर र गुरुङ जातिको संस्कृति यहाँको अर्को आकर्षण रहेको होमस्टे संयोजक नन्दराम थापा बताउनुहुन्छ । यहाँ कात्तिक–मङ्सिरमा बालन नाच, मङ्सिरदेखि माघसम्म नचरी, सोरठी र ख्याली, फागु पूर्णिमादेखि कौरा नाच देखाइने उहाँले जानकारी दिनुभयो । यी नृत्यका साथै घाँटुनाच पनि यहाँको अर्को मौलिकता हो । चैत–वैशाखमा वरपरका जङ्गलमा ढकमक्क फुल्ने लालीगुराँसले यहाँ आउने जो–कसैको मन लोभ्याउने गर्दछ ।

गाउँ पर्यटनमा प्रचुर सम्भावना बोकेर पनि पूर्वाधारको अभावका कारण दगाम ओझेलमा गरेको अर्का स्थानीयवासी तीलबहादुर थापामगर बताउनुहुन्छ । प्रकृति र संस्कृतिले सम्पन्न दगामलाई प्रवद्र्धनकै अभावमा पर्यटन बजारमा पु¥याउन नसकिएको उहाँको भनाइ छ ।

गाउँसम्म पुग्ने बाटो असजिलो भएकै कारण दगाम पछि पर्न थालेको स्थानीय लालबहादुर गुरुङले बताउनुभयो । दगामसम्म पुग्ने पदमार्ग र सडकको बाटो व्यवस्थित गर्न सके बाह्रैमास पाहुना जान सहज हुने उहाँको भनाइ छ ।

सरकारी पक्षबाट सानो–तिनो सहयोग आए पनि त्यो आफूहरूका लागि पर्याप्त नभएको पूर्व वडासदस्य दानबहादुर थापाले गुनासो गर्नुभयो । यहाँका घरमा स्तरीय शौचालयको अभाव रहेको जनाउँदै यसतर्फ पनि ध्यान दिनु जरुरी रहेको बताउनुभयो ।

पछिल्ला समयमा यहाँको प्रवद्र्धनलाई विभिन्न सङ्घ संस्थाले जोड दिएका छन् । दगामका पर्यटकीय सम्भावनालाई उजागर गर्न हालै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकी प्रदेशले प्रवद्र्धनात्मक कार्यक्रम गरेको थियो । फोनिज गण्डकीका इन्चार्ज एमबी आस्थाले प्रकृति र संस्कृतिको बरदान दगाम गाउँ प्रवद्र्धनका पर्खाइमा रहेको बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments